मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।
प्रत्यारोपण गरेका बिरामी आज १९ औ दिनमा घर फर्किएका छन्। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिए ।
यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अङ्गमध्ये एउटा मिर्गौला र कलेजो एक जनालाई र अर्को मिर्गौला एक जनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको बताए ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको तीन अङ्गमध्ये एकजना बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ । अर्का ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको श्रेष्ठले जानकारी दिए ।
केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक डा. श्रेष्ठको नेतृत्वमा, कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनको सहयोग तथा मिर्गौला प्रत्यारोपणमा डा। दीपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा.शोभित थापा, डा. रेखा श्रेष्ठ, नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्यलगायत स्वास्थ्यकर्मीले सफलतापूर्वक प्रत्यारोपण गरेका थिए ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको भएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।
एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरी आठ जनामा अङ्ग प्रत्यारोपण गरेर जीवन दिन सकिन्छ ।
मस्तिष्क मृत्यु पश्चातको अङ्गदान र प्रत्यारोपण संसारमा कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु पश्चात् हुने अङ्गदानबाट हुनसक्ने र देश अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बन्ने केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए ।
केन्द्रले वि.सं २०७३ मङ्सिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो ।
नेपाली टोलीबाट विसं २०७५ कात्तिक १२ गते पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो । केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुँदै आएको जनाइएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

प्रतिक्रिया