बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडाैँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली थाइल्यान्डसँग दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित भएको छ। अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला टोली थाइल्याण्डसँग २–० ले हारेको हो।

सोमबार बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा थाइल्यान्डले २ गोल गर्न सफल भयो। पहिलो हाफमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको नेपाल दोस्रो हाफमा गोल खान पुगेको थियो।

नेपाल विरुद्ध थाइल्याण्डले खेलको ५९ औं मिनेटमा फ्रिकिकमार्फत पहिलो गोल गरेको थियो। करिब ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बार च्याप्दै गरेको फ्रिकिक उत्कृष्ट गोलमा परिणत भयो।

अर्को गोल भने ७५ औं मिनेटमा काउन्टर अट्याकमा गरेको थियो। बक्सभित्र अनमार्क रहेकी रोडथोंगले अग्रता दोब्बर बनाएकी थिइन्। यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो।

नेपालले अर्को महिना एएफसी महिला एसियन कपको छनोट खेल खेल्दै छ। उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलंकाको सामना गर्ने छ। चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ। नेपालको समूहमा उज्वेकिस्तान फिफा वरियतामा सर्वाधिक माथि रहेको छ।