बिहीबार २२ जेठ, २०८२
Thursday, June 05, 2025

एमालेको 'झोले अभियान'

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १७ गते बुद्धिजिवी परिषद्को महाधिवेशनमा भनेका थिए 'सही कुराको समर्थन गर्दा झोले भनिन्छ भने त्यसमा आफूलाई अफ्ठ्यारो लाग्दैन् ।'

उक्त झोले विषयलाई लिएर आज नेकपा एमालेका नेतादेखि कार्यकर्तासम्मले सामाजिक सञ्जालमा अभियान जस्तै चलाएका छन् ।

आज मात्रै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले सामाजिक सञ्जालमा एउटा पोस्ट गरे, जहाँ ठूलो अक्षरमा लेखिएको छ 'म झोले हो ।' त्यसको मुनि लेखिएको छ 'एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्‌नु कयौं गुणा उत्तम चरित्र हो ।'

त्यसलगत्तै एमालेका नेता तथा अर्थमन्त्री विष्णु पौडेलले पनि सोही व्यहोराको पोस्ट गरे, जसमा फोटो आफ्नै छ, कन्टेन्ट उहि छ।

त्यसलगत्तै उक्त पोस्टमा फोटो आफ्नो राखेर अभियान जसरी नै एमालेका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

के भनेका थिए ओलीले बुद्धिजिवी परिषद्को महाधिवेशनमा ?
सही कुरालाई समर्थन गर्दा झोले ? मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हित, राष्ट्रको हित र इज्जतको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र परिवर्तनको झन्डा माथि उठाउने एउटा झोले हुँ । 

फालिसकेको राजतन्त्रको पक्षमा म रैतान हुन तयार छु भनेर नारा लगाउन हुने । म स्वतन्त्र मानव होइन, नागरिक सर्वोच्चता स्वीकार्ने मान्छे होइन म प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियतनामा गर्न लाज नहुने । ती झोले नहुने ?

इतिहासलाई जस्ताको तस्तै बुझ्ने, राख्ने र सही बाटोमा अगाडि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? म कबुल गर्छु झोले हुँ । 

राम्रा कुरा बोक्न बनेको झोलामा दलाली हालेर बोक्छन् यिनीहरू । राम्रा कुरा बोक न त्यो झोलामा । झोले हुनुमा गर्व छ तर राम्रो कुरा बोकेर हिँड्नमा गर्व छ । हामीलाई झोले भन्नेहरू पनि देख्दा मात्रै मान्छे जस्ता हुन् । ती पनि एक प्रकारका मेसिनजस्तै हुन् । जे आदेश आउँछ त्यो पालना गर्ने ।