मंगलबार २० जेठ, २०८२
Tuesday, June 03, 2025

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौँ - बेष्ट फाइनान्स र एनसीएचएलबिच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा एनसी एचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । 

एनसीएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात बेष्ट फाइनान्सले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । 

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपिएस–एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाँईमा पु-याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी फाइनान्सहरू मध्येको बेष्ट फाइनान्सले देश भरी रहेका १८ वटा शाखा तथा ३ एटीएम टर्मिनलमार्फत ग्राहकवर्गहरूलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।