सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

सप्तरी- सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ ।

आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उहाँको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए । बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए ।

“राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यतिबेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवा नजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ”, मगरले भने ।