आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

भालुको आक्रमणबाट दार्जुलामा दुई जना घाइते

खलङ्गा- दार्चुलामा भालुको आक्रमणमा एकापरिवारका दुई जना घाइते भएका छन् ।

शुक्रबार बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए ।

उनका अनुसार  कलावती र मानमती सासू बुहारी हुन् । नजिकैको स्थानीय वन बरमुडेलेकबाट आएको भालुले  घरभित्र पसेर एक्कासी उनीहरुमाथी आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परी घाइते कलावतीको ढाड र मुखमा चोट लागेको छ । भालुको आक्रमणबाट बच्न भाग्दा लडेर मानमतीसमेत घाइते भएका छिन् । घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । भालुलाई नियन्त्रणमा लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटना स्थलमा पुगेको जनाइएको छ ।