आणविक कार्यक्रमबारे अष्ट्रियाको रिपोर्ट भ्रामक : इरान

तेहरान- तेहरानले आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने अष्ट्रियाली गुप्तचर निकायको रिपोर्टलाई ‘भ्रामक’ भएको ठहर गर्दै इरानले शुक्रबार इरानका लागि अष्ट्रियाका कार्यवाहक राजदूतलाई सोधपुछका लागि पत्राचार गरेको छ ।
तेहरानले आफ्नो आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको बेला यो विवाद उत्पन्न भएको हो।
अष्ट्रियाको घरेलु गुप्तचर सेवा (डीएसएन) ले विश्वव्यापी खतरासम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा इरानको ‘आणविक हतियार विकास कार्यक्रम राम्रोसँग अघि बढेको’ बताएको छ ।
संयुक्त राज्य अमेरिका, इजरायल र अन्य पश्चिमी देशहरूले बारम्बार इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँदै आएका छन्।
इरानले उक्त दाबीको खण्डन गर्दै नागरिक प्रयोजनका लागि मात्र आणविक कार्यक्रम अघि बढाइरहेको तर्क गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार इरान विश्वको एक मात्र देश हो जसले गैर–आणविक हतियारका लागि भन्दै ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गरेको छ ।
यो दर आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतको सीमाभन्दा केही कम छ तर सन् २०१५ मा विश्व शक्तिराष्ट्रहरूसँगको सम्झौताअन्तर्गत निर्धारित ३.६७ प्रतिशतको सीमाभन्दा निकै माथि छ ।
अष्ट्रियाको रिपोर्टमा भनिएको छ, “इरानमाथि प्रतिबन्ध र सम्झौतामार्फत हतियार रोक्ने सबै प्रयासहरू अहिलेसम्म निष्प्रभावी साबित भएका छन् ।”
शुक्रबार इरानको विदेश मन्त्रालयले उक्त प्रतिवेदनमा सम्प्रेषित ‘भ्रामक जानकारी’ को निन्दा गर्दै अष्ट्रिया सरकारसँग स्पष्टीकरण मागेको थियो ।
इरानको सरकारी समाचार संस्था इरनाका अनुसार इरानले तेहरानस्थित अष्ट्रियाका कार्यवाहक राजदूत माइकला पाचेरलाई विदेश मन्त्रालयमा बोलाएर आरोपप्रति इरानको कडा विरोध जनाएको छ ।
बैठकमा मन्त्रालयले ‘अष्ट्रियाको प्रतिवेदन आइएईएका थुप्रै प्रतिवेदनसँग पूर्णरूपमा विरोधाभास रहेकोमा जोड दिएको’ छ ।
अष्ट्रियाको राजधानीमा मुख्यालय रहेको आइएईएले आगामी दिनमा इरानको आणविक गतिविधिको आफ्नै समीक्षा प्रकाशित गर्ने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तेहरानसँग भएको आणविक सम्झौताबाट हात झिकेपछि इरान र संयुक्त राज्य अमेरिकाले तेहरानको आणविक कार्यक्रमबारे सम्झौता गर्न ओमानी मध्यस्थताको प्रयास गरिरहेका छन् ।
गत साता रोममा भएको छलफलपछि इरान र अमेरिकाबीचको अर्को बैठकका लागि कुनै मिति तय गरिएको छैन ।
बिहीबार विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग सम्झौता हुन लागेकोमा आफू विश्वस्त नभएको बताउनुभएको थियो ।
ट्रम्पले बुधबार दुवै पक्ष ‘समाधानको निकै नजिक’ रहेको बताएपछि अराघचीकोे यो भनाइ आएको थियो । (एएफपी)

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

कजाकिस्तानमा भेटियो दुर्लभ धातुको अब उत्खननको चरणमा

'युक्रेन र रूस सम्भावित वार्ताअघि युद्धविराम चाहन्छन्'

अमेरिकी अदालतको फैसलापछि ट्रम्प व्यापार वार्तामा ‘पूर्ण लगानी’ गरेको इयुको भन…
रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

शतप्रतिशत गाजावासी अनिकालको जोखिममा : राष्ट्रसंघ

प्रतिक्रिया