आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँं- इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनान गणराज्यका लागि नेपालको आवासीय तथा विशेष प्रतिनिधि राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।बेरुतस्थित राष्ट्रपति भवनमा आज आयोजित एक समारोहबीच लेबनान गणराज्यका राष्ट्रपति जनरल जोसेफ आउन समक्ष उहाँले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको नेपाली दूतावासले जनाएको छ ।

उक्त अवसरमा लेबनानका परराष्ट्र तथा प्रवासी मामिलामन्त्री युसेफ राज्जी तथा लेबनानी सरकारका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । समारोह अघि, सैनिक ब्यान्डद्वारा नेपाल र लेबनानका राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । त्यसपछि सम्मान गारत प्रदान गरिएको थियो । आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत लम्सालले राष्ट्रपति आउनसँग शिष्टाचार भेटवार्ता पनि गर्नुभएको दूतावासले जनाएको छ ।

राजदूत लम्सालले विभिन्न क्षेत्रमा नेपाल र लेबनानबीच द्विपक्षीय आदानप्रदानको बढ्दो सम्भावनाहरूमाथि प्रकाश पार्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध बढ्दै र विविधीकरण हुँदै जाने आशा व्यक्त गर्नुभएको थियो । राष्ट्रपति आउनले लेबनानका लागि नेपालको राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नुभएकामा उहाँलाई बधाई दिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध भविष्यमा उन्नत र सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।