शनिबार १७ जेठ, २०८२
Saturday, May 31, 2025

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११:०० बजे बस्नेछ । जुन बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल हुनेछ ।

दिउँसो १:०० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुँदैछ ।

उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११:०० बजे बोलाइएको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११:०० बजे बोलाइएको  छ ।