शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

निजी क्षेत्रबाट बजेटको स्वागत, सुझाव समेटिएको प्रतिक्रिया

काठमाडौँ- निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महासंघले दिएका धेरै सुझाव समेटिएको बताए । उनले भने, “निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ढङ्गबाट बजेट आएको छ, महासंघले लगानी प्रवर्द्धन, खनिज निकासीका सम्बन्धमा दिएका सुझावका धेरै बुँदा समावेश भएका छन्, लगानी बोर्डलाई शक्तिशाली बनाउन खोजिएको छ ।”

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो संस्थाले दिएका सुझाव बजेटमा समेटिएको प्रतिक्रिया दिए । उनले भने, “यो बजेटलाई महत्वकाङ्क्षी रूपमै लिएको छु । निजी क्षेत्रले दिएका धेरै सुझाव र माग बजेटमा परेका छन् । अहिलेको विषय परिस्थितिमा स्रोत बाँडफाँट प्रणाली राम्रो छ । राजस्व संकलनको प्रक्षेपण पनि ठिकै छ ।”

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले मुलुकको अर्थतन्त्रको दवावकाबीचमा ल्याइएको बजेटमा निजी क्षेत्रका राय, सुझाव र परामर्शलाई अनुसरण गरिएको  प्रतिक्रिया दिए। उनले भने, “निजी क्षेत्रलाई उत्साह दिन खोजिएको पाइएको छ, सरसर्ती हेर्दा बजेट सकारात्मक दिशातर्फ उन्मुख छ । उद्यमशीलतालाई जोड दिन खोजिएको छ ।”

  चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले निजी क्षेत्रले उठाएका धेरै कुरा समेटिएको र राम्रो बजेट आएको बताए । “नेपालीलाई विदेशमा लगानी गर्न पाउने बाटो खुलेको छ, हामीले यसलाई बारम्बार उठाउँदै आएका थियौँ”, उनले भने । 

 चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटले राजस्व संकलनमा कठिन देखिएको भए पनि समग्रमा आइटी क्षेत्रलाई समेटिएर आएको बजेट राम्रो रहेको प्रतिक्रिया दिए।