शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

काठमाडौँ महानगरले बालाजुमा दुई सयमा 'स्वीमिङ्' गराउने, विद्यार्थीलाई १५०

काठमाडौँ- आइतबार (जेठ १८) गतेदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा आउने भएको छ । पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिए । 

पौडी पोखरी सञ्चालन गर्न महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले नेपाल पौडी संघसँग सम्झौता गरेको छ । आयोजनाका प्रमुख नवराज थापा र संघका महासचिव ईश्वरकुमार कार्कीका बिच सम्पन्न सम्झौताबमोजिम संघले १ जना वरिष्ठ जीवन रक्षक, १ जना महिला अनिवार्यसहित ३ जना जीवन रक्षक, १ जना पानी प्रशोधन प्राविधिकसहित ५ जना जनशक्ति उपलब्ध गराउने छ । महानगरपालिकाले तोकेको पोखरी सञ्चालन हुने दिनमा सेवाग्राही आउनुभन्दा १० मिनेट अगाडि नै जनशक्ति पोखरीमा आइपुग्नेछन् । समय सकिएपछि कार्यालय प्रमुखलाई दैनिक कामको विवरण दिएर फर्किनेछन् । यो सम्झौता पोखरी सञ्चालन अवधिका लागि हो । 

आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरपालिकाले जारी गरेको आर्थिक ऐन बमोजिम पौडीको पूरा शुल्क २ सय रुपैयाँ राखिएको छ । मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ । सिजनल सदस्यहरुका लागि १२ हजार रुपैयाँ तोकिएको छ । बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतका अनुसार पौडीको सिजनको केही समय वितेको हुनाले सिजनल शुल्क नलिने योजना छ । 

विद्यार्थीहरुलाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ । २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ । लकर सुविधा लिएवापत ५० रुपैयाँ लाग्नेछ । 

२०७२ सालको भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माण थालिएको थियो । ७ करोड ८५ लाख रुपैयाँ लागत अनुमान गरिएको पुनःनिर्माण गर्न पशुपतिनाथ कन्स्ट्रक्सनले ७ करोड ४३ लाख रुपैयाँमा निर्माण कबोल गरेको थियो । निर्माणको खर्च रकम ७ करोड ४३ लाख ३१ हजार १९७ रुपैयाँ हो । कामका लागि २०७९ असोज ५ गते कार्यादेश दिइएको थियो । २०८० चैत १९ गते निर्माण सम्पन्न भएको हो । 

पोखरीमा १८ लाख लिटर पानी अट्ने क्षमता छ । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको पोखरीको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ । पोखरीमा प्रयोग हुने पानीको शुद्धिकरणका लागि पानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ । पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ । १५० जना क्षमताको दर्शक बस्ने ठाउँ छ । व्यवस्थित शौचालय र स्नान घर छ । लकरहरुको व्यवस्था गरिएको छ । पोखरीको वरिपरि काँडे तारले सुरक्षा लगाइएको छ ।