शनिबार १७ जेठ, २०८२
Saturday, May 31, 2025

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

काठमाडौं : सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ प्रतिवेदनअनुसार सञ्चालनमा रहेका ४५ वटा सार्वजनिक संस्थानमध्ये २८ नाफामा, १५ घाटामा र दुई वटा बन्द अवस्थामा रहेका छन्। प्रतिवेदनअनुसार सार्वजनिक संस्थानमा सरकारको ठूलो लगानी देखिए पनि त्यसको प्रतिफल र राज्यले पाउने लाभ निरन्तर कमजोर हुँदै गएको देखिएको हो।

'आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक र बाह्य कारणले सार्वजनिक संस्थानको समग्र कार्यसम्पादनमा असर पर्न गएको छ। आर्थिक वर्ष २०७९/८० मा संस्थानको कुल सञ्चालन आय रू छ खर्ब ६१ अर्ब ६३ करोड ३८ लाख रहेकामा आव २०८०/८१ मा शून्य दशमलव २२ प्रतिशतले कमी भई रू छ खर्ब ६० अर्ब १५ करोड ४६ लाखमा सीमित भएको छ', समीक्षा प्रतिवेदनमा भनिएको छ।

आव २०७९/८० को सार्वजनिक संस्थानको समग्र खुद नाफा रू ४८ अर्ब ९२ करोड २९ लाख को तुलनामा आव २०८०/८१ मा १२ दशमलव ८८ प्रतिशतले कमी भई रू ४२ अर्ब ६२ करोड १६ लाख कायम भएको छ। यसरी नाफा घट्नुमा तुलानात्मक रूपले कारोबार र नाफा अङ्क उच्च रहेका नेपाल आयल निगम लिमिटेड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नाफामा आएको गिरावटले भूमिका खेलेको देखिन्छ।

'आव २०७९/८० मा रू ११ अर्ब ७२ करोड ३० लाख खुद नाफामा रहेको नेपाल आयल निगम लिमिटेड आव २०८०/८१ मा रू नौ अर्ब ५५ करोड ४७ लाख नाफामा छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रू दुई अर्ब १६ करोड ८३ लाख कमी हो,' वार्षिक प्रगति प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आव २०७९/८० को खुद नाफा रू सात अर्ब ९२ करोड दुई लाखको तुलनामा आव २०८०/८१ मा रू छ अर्व २३ करोड एक लाखमा सीमित हुन पुगेको छ।

सार्वजनिक संस्थानको आव २०८०/८१ सम्मको कुल सञ्चित नाफा रू ९२ अर्ब ७२ करोड ३६ लाख पुगेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को रू ६५ अर्ब ७४ करोड ८२ लाखको तुलनामा ४१ दशमलव शून्य तीन प्रतिशतले बढी हो।

संस्थानको प्रतिवेदनअनुसार जनकपुर चुरोट कारखाना लिमिटेड बन्द भएपनि भवन तथा जग्गा भाडाबापत प्राप्त रकमबाट आय भएको देखिन्छ। त्यस्तै, नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले आफ्नो उद्देश्यअनुसारको कार्यबाट भन्दा ब्याजबापत बढी रकम आर्जन गरेको देखिएको छ।

घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड र बुटवल धागो कारखाना लिमिटेड बन्द छन् भने धौबादी फलाम कम्पनी लिमिटेडले व्यवसायिक कारोबार सुरू गरेको छैन। व्यावसायिक कारोबार नभए पनि यी संस्थानको नियमित प्रशासनिक खर्च भइरहेकाले नोक्सानमा रहेको देखिएको हो।

आव २०८०/८१ मा नाफामा सञ्चालित संस्थानको खुद नाफा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ५० प्रतिशतले घटेको छ भने नोक्सानमा सञ्चालित संस्थानको खुद नोक्सान अघिल्लो वर्षको तुलनामा आठ दशमलव ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ। सार्वजनिक संस्थानको कुल सञ्चालन खर्च अघिल्लो समीक्षा अवधिको तुलनामा तीन दशमलव शून्य छ प्रतिशतले घटेकामा प्रशासकीय खर्च (कर्मचारी खर्चसहित) शून्य दशमलव ५५ प्रतिशतले बढेको छ।

आव २०८०/८१ मा कुल शेयर धनी कोष (नेटवर्थ) को रू १० खर्ब ३७ अर्ब ५८ करोड ४५ लाख पुगेको छ जुन आव २०७९/८० को रू नौ खर्ब ९० अर्ब ४० करोड ५२ लाखको तुलनामा चार दशमलव ७६ प्रतिशतले बढी हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणअनुसार नेपाल सरकारको कुल लगानी आव २०७९/८० को रू छ खर्ब ६४ अर्ब ९४ करोड १२ लाख तुलनामा पाँच दशमलव ८६ प्रतिशतले वृद्धि भई आव २०८०/८१ मा रू सात खर्ब ३ अर्ब ९३ करोड ८८ लाख पुगेको छ।