बुद्ध दर्शनको दस्तावेज – अर्हत्

पछिल्लो समय शैलेन्द्र अधिकारीद्वारा लिखित अर्हत् उपन्यास निकै चर्चामा रहेको छ । उनको यो दोस्रो उपन्यास कृति हो । उनको पहिलो उपन्यास निर्वेद पनि निकै राम्रो र रुचाइएको उपन्यास हो । त्यसपछि उनको ब्रह्मास्त्र कथासंग्रह प्रकाशित भएको देखिन्छ ।
उनी विशेषगरी दर्शनसँग नजिक रहेर लेख्न रुचाउँछन् । दर्शनका गहिरा विषयलाई आख्यानमा ढालेर प्रस्तुत गर्नु उनको लेखकीय विशेषता हो । उनका कृतिहरुका नाम नै फरक र नौलो किसिमका हुन्छन । नाम मात्रै सुन्दा नै पढौँ पढौँ लाग्ने । त्यस्तै सुन्दर रूपमा सजिएका उनका पुस्तकहरूका आवरण हुन्छन् जुन हेर्दै नै आकर्षक लाग्ने खालका हुन्छन् ।
अर्हत् उपन्यासको पनि सुन्दर डिजाइन र आवरणले गर्दा निकै आकर्षक र लोभ लाग्ने पुस्तक बनेको छ । बुद्ध र कमलको चित्र त्यसमाथि विविध रङहरूको सुन्दर संयोजन । अर्हत् एउटा यस्तो कृति हो जुन बुद्ध धर्म र दर्शनको सिङ्गो इतिहास बोकेको छ । बुद्धसँग सम्बन्धित विभिन्न खोज र अनुसन्धान गरेर बुद्धको जीवनीलाई लेखकले आकर्षक शैलीमा आख्यानीकरण गरेका छन् । उनको लेखनीको म पहिलो उपन्यास निर्वेददेखि नै प्रशंसक हुँ ।
ओजपूर्ण भाषा, मिठासयुक्त शैली, शब्द चयनमा कुशलता, छोटा छोटा वाक्य सहजै सबैलाई प्रभावित पार्न सक्ने गरी लेख्ने उनको सामथ्र्यले उनको लेखनीलाई परिपक्व बनाएको छ । अर्हत् एउटा यस्तो पुस्तक हो जसले बुद्धको जीवनका समग्र
पक्षहरूलाई समेटेको छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नु पूर्वका र बाल्यावस्थाका कथाहरू र किशोरावस्थाका कहानीलाई मिहीन चित्रण गरी उनकै मुखारविन्दबाट सुनाइएको छ ।
प्रथम पुरुष शैलीमा लेखिएको यस उपन्यासमा बुद्धले खुद आफ्नो जीवन वृतान्त आफैँ सालिन रूपमा सुनाएका छन । बुद्ध धर्म, दर्शन, बुद्धकालीन समय, समाज र तत्कालीन अवस्थाका विविध घटना, कथा, पात्रहरूलाई तदनुसारको परिवेश, काल अनुरूपको दृश्य र काल्पनिकतामा डुबेर अधिकारीले यथार्थपरक बनाउने कोशिश गरेका छन । बुद्धले कसरी आम मानिसका दुखको निवारणका लागि सुख सयलयुक्त आफ्नो राजदरबार र सुखसयल त्यागेर वनवन भौँतारिँदै हिँडे । कठोर साधना गरे र ज्ञानको खोजीमा अनेकौँ सास्ती भोगे ती घटनाक्रमलाई जोडेर विभिन्न कथा, उपकथा र पात्रहरुको संयोजन गर्दै संवादात्मक शैलीमा सरल र सुललित तरिकाले उपन्यासकारले बुद्धगाथालाई प्रस्तुत गरेका छन् ।
अर्हत् उपन्यासले बुद्धको जीवनका घटनाहरूलाई विश्लेषण गर्दै मानवता, धर्म र त्यागको विषयमा गहिरो विचार चिन्तनको सम्प्रेषण गरेको छ । यो उपन्यास विशेष गरी बुद्धका जीवनका महत्वपूर्ण घडीहरूलाई तत्कालीन सामाजिक परिवेशअनुरुप नै चित्रण गर्न सफल भएको छ ।
सिद्धार्थ गौतमको राजमहलको जीवन, राजमोह त्याग, ध्यान र तपस्या, बुद्धत्वको प्राप्ति, धर्मोपदेश र भिक्षु सङ्घको स्थापना, धर्मप्रसार कपिलवस्तुको पतन हुँदै र महापरिनिर्वाणका विषयहरूलाई उपन्यासले आफ्नो केन्द्रीय कथ्य बनाएको छ । अर्हत् यिनै विषयहरूलाई प्रस्तुत गर्दै बुद्ध दर्शनको आभामा पिँजारिएको पाइन्छ ।
अधिकारीले बुद्धको जीवनीलाई आख्यानको रूपमा ढाल्नका लागि निकै अध्ययन, खोज र मेहनत गरेको देखिन्छ । उनले बुद्धको शताब्दीयौँ लामो कालखण्डमा छरिएर रहेको सिङ्गो इतिहासलाई केन्द्रीकृत गरेर एउटा सुन्दर र सबल कथामा समेटेर प्रस्तुत गरेका छन् । अहिलेका नयाँ पुस्ताले सहजै बुद्धको बारेमा धेरै कुराहरू पढ्न र बुझ्न सक्ने गरी. प्रस्तुत गर्नु एक हिसाबले ऐतिहासिक कार्य हो भन्न सकिन्छ ।
पाली भाषामा लेखिएका त्रिपिटक र जातक कथा सँगै बुद्ध दर्शनलाई यसरी आख्यानको स्वरूपमा ढाल्नु चुनौतीपूर्ण कार्य हो र त्यस चुनौतीलाई अधिकारीले स्वीकार गरेको देखिन्छ ।
सत्यतथ्यका आधारमा खोज र अनुसन्धान गरेर तत्कालीन समयको परिवेश सुहाउँदो पात्रानुकुल र घटना अनुकूलको दृश्यको कल्पनाको सुन्दर संयोजन अर्हत् उपन्यासमा गरिएको छ । साथै सबैले इतिहासदेखि हामीले बुद्धलाई भगवान बनाएर पुजा गर्दै आइरहेको, चमत्कार र रहस्यमय बुद्धकालीन कथाहरू सुन्दै आइरहेको अवस्थामा बुद्धलाई उनले विद्वान महामानवको रूपमा सामान्यीकरण गरेर यथार्थता प्रदान गर्न सफल भएका छन् ।
अधिकारीले यस उपन्यासमा बौद्धदर्शनका केही अत्यन्तै महत्वपूर्ण विषयहरूलाई सरल किसिमले प्रस्तुत गरेका छन् । निर्वाण, सम्यक् दृष्टि, मध्यमार्ग र कर्मको सिद्धान्तलाई प्रमुख रूपमा उत्खनन् गरेर ती सिद्धान्तहरूको प्रभावले बुद्धको मात्र होइन, उनको जीवनसँग जोडिएका समस्त पात्रहरूको आन्तरिक सङ्घर्ष र मानसिक अवस्थालाई स्पष्ट रूपमा चित्रित गरेका छन् ।
यस उपन्यासमा प्रमुख रूपमा अर्हत्लाई सांसारिक बन्धनबाट मुक्ति प्राप्त गर्ने साधनका रुपमा लिइएको छ । जस्का लागि बुद्धले दरबार त्यागेर हिँडे, ज्ञान प्राप्त गरे र आफूले प्राप्त गरेको ज्ञानलाई जगतभरी फैलाए ।
भिक्षु सङ्घ बनाए, त्यसका नियमहरू बनाए । भिक्षुहरूले पालन गर्नुपर्ने नैतिक नियमहरूको निर्माण गरे । यी सबै विषयलाई मनन गर्दा के भन्न सकिन्छ भने अर्हत् उपन्यासमा मोक्ष प्रप्तिको अवधारणालाई पनि महत्वपूर्ण रूपमा प्रस्तुत गरिएको छ । अर्हत्, जुन उपन्यासको केन्द्रीय विषय बनेको छ । पात्रहरूका जीवनका उद्देश्य र सङ्घर्षहरू अर्हत् प्राप्तिको मार्गमा समाहीत बनेका छन् ।
त्यसैले यसले बौद्धदर्शनको उद्देश्य, शान्ति र अर्हत्को प्राप्तिलाई विस्तृत रूपमा चित्रित गरेको छ । यी सबै यस उपन्यासका राम्रा र सकारात्मक पक्षका रूपमा देखा परेका छन् ।उपन्यासमा केही सामान्य कमजोरीका विषयहरू पनि देखा परेका छन् । यो उपन्यास पढ्दै जाँदा कतैकतै बुद्धमा आफैँ अलिकति अहमता देखिएको हो कि भन्ने भान पर्न सक्छ । मलाई पनि प¥यो । कतैकतै प्रयोग गरिएका दुर्वोध्य र क्लिष्ट शब्दहरूको प्रयोगले सामान्य पाठकहरूलाई अलिक बुझ्न गाह्रो हुन सक्ने देखिन्छ ।
तसर्थ समग्रमा के भन्न सकिन्छ भने नवीनताको प्रयोगमा विशेष कुशलता देखाउन सक्ने शैलेन्द्र अधिकारी कृत अर्हत् उपन्यास विशेष गरी बुद्ध धर्म, बुद्धदर्शन र बुद्धको जीवनका यावत् घटनाहरूलाई सरलीकरण गरेर लेखिएको एउटा ऐतिहासिक आख्यान हो । जसको अध्ययनबाट पाठकले भरपुर साहित्यिक रसपान गरी उपन्यासका रूपमा बुद्धको बारेमा सहजै जानकारी प्राप्त गर्न सक्छन् ।
दुःखले भरिएको जीवनबाट कसरी बुद्धका उपदेश र ध्यानबाट अर्हत् प्राप्त गर्न सकिन्छ भन्ने नै यस उपन्यासको मूल धेय हो । साहित्यको फाँटमा पछिल्लो समय विविध हिन्दु धर्म र दर्शनको बारेमा प्रशस्त आख्यानहरू प्रकाशित भइरहँदा अर्हत् बुद्ध धर्म, बुद्ध दर्शन र बुद्धको जीवनका समग्र पक्षको पाटोलाई उजागर गर्न सफल एउटा गतिलो दस्तावेज बनेको छ । लेखकलाई प्रशस्तै शुभकामना र बधाई ।
रिमा के.सी

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

प्रतिक्रिया