सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्‍नुहोसः डा. कोइराला

फिदिम- नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोक्न नहुने बताएका छन् । सोमबार आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोईरालाले काँग्रेस कार्यकर्ताहरु  स्वाभिमानी बन्नुपर्ने धारणा व्यक्त गरेका हुन्  ।

"नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदै," कोइरालाले भने "कार्यकर्ताहरु स्वभीमानी बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।" 

नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिँडेको आरोप लगाए । ‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,” प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने “प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाण्डौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।” प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो । 

आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाण्डौलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरुले पनि काठमाण्डौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोइरालाको ठहर थियो ।