सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

रुसी आक्रमणमा १२ युक्रेनीको मृत्यु

किभ, युक्रेन- युक्रेनमा आइतबार राति भएको रुसी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
 
युक्रेनको आपतकालीन सेवाले राजधानी किभसहित युक्रेनी विभिन्न भूभागमा रुसले लगातार दोस्रो रात ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनले आक्रमणलाई ‘आतङ्कको रात’ भनेको छ । 

सन् २०२२ को फेब्रुअरीमा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेयता दुवै पक्षले सबैभन्दा ठूलो कैदी आदानप्रदान गरेको र संयुक्त राज्य अमेरिकाले तीन वर्ष पुरानो युद्ध रोक्न युद्धविरामको मध्यस्थता कोसिस गरिरहेको बेला यी आक्रमणहरू भएका हुन् ।

रुसको पछिल्लो आक्रमणमा आठ र १२ वर्षका दुई बालबालिका र उत्तरपश्चिमी क्षेत्र झितोमिरमा १७ वर्षीय एक किशोरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, “रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिँदैन ।”

“निश्चित रूपमा प्रतिबन्धले रूसी आक्रमण नियन्त्रण गर्न र रूसलाई युद्धविरामका लागि दबाब दिन मद्दत गर्नेछ,” उहाँले संयुक्त राज्य अमेरिका, युरोपेली देश र ‘शान्ति चाहने विश्वभरका सबैलाई’ मस्कोलाई युद्ध रोक्न ‘दृढता’ देखाउन आह्वान गरे।
 
युक्रेनको सेनाले आइतबार बिहान ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणमा प्रयोग गरिएका ड्रोन खसालेको जनाएको छ ।

यसैबीच, रुसले शनिबार राति र आएतबार बिहान गरी११० वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ ।
 
युक्रेनको पश्चिमी खमेल्निट्स्की क्षेत्रमा चार जना, किभ क्षेत्रमा चार जना र दक्षिणमा माइकोलाइभमा एक जनाको मृत्यु भएको छ ।
 
आपतकालिन सेवाका अनुसार किभ क्षेत्रमा तीन बालबालिकासहित १६ जना घाइते भएका छन् ।
 
अवकाशप्राप्त ६५ वर्षीया महिला तेतियाना इयान्कोभस्काले किभको दक्षिणपश्चिममा रहेको मखालिभका गाउँमा एएफपीसँग भने, “हामीले सडकमा पूरै आगो लागेको देखेका थियौँ । 

आक्रमणबाट बच्न सफल अर्का अवकाशप्राप्त ६४ वर्षीय ओलेस्कान्दरले युद्धविरामका विषयमा हुने वार्तामा आफूलाई विश्वास नभएको बताए । 
 
उनले भने “हामीलाई वार्ताको आवश्यकता छैन, तर उनीहरूलाई (रुसीहरूलाई) रोक्न धेरै हतियारचाहिएको छ।रुसले बल मात्र बुझ्छ, अरु केही बुझ्दैन।”

युक्रेनी अधिकारीहरूका अनुसार रुसले शुक्रबार राति १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र २५० वटा ड्रोन प्रहार गरेको र यसबाट १५ जना घाइते भएका थिए ।

जेलेन्स्कीले भने, “बढ्दो शत्रुताको बाबजुद, उहाँले मे १६ मा इस्तानबुलमा वार्ताको क्रममा सहमति भएको कँैदी आदानप्रदान जारी राखिने छ।” 

किभ र मस्कोमा जारी गरिएको घोषणाअनुसार शनिबार ३०७ जना रुसी युद्धबन्दीको बदलामा सोही सङ्ख्यामा युक्रेनी सैनिकको आदानप्रदान भएको छ ।
 
दुवै पक्षले शुक्रबार पहिलो चरणमा ३९० जनालाई स्वागत गरेका थिए ।

उनीहरूले कुल एक हजार कैँदी रिहा गर्ने सहमति भएको र सहमति अनुसार उनीहरूको आदानप्रदान हुने बताए । (एएफपी)