बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

१० महिनामा दुर्घटना परेर ३४ जनाको ज्यान गयो

वीरगञ्ज (पर्सा)- पर्सामा चालु आर्थिक वर्षको १० महिनामा सवारीसाधन दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एकपटक ट्राफिक जनचेतनामूलक कार्यक्रम अघि बढाउँदै आइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले जिल्लामा चालु आवमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरणका लागि सातामा एक पटक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । 
“हामीले सातामा एकपटक ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ”, उनले भने, “गत वर्षभरिमा ५१ जनाले सवारीसाधन दुर्घटनामा परेर ज्यान गुमाउनुभयो । यो वर्ष हामीले ट्राफिक सचेतना फैलाएर ज्यान गुमाउनेको सङ्ख्या न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिँदै आइरहेका छौँ ।”

कार्यालयले दुर्घटना न्यूनीकरणका लागि वीरगञ्जको चोक–चोकमा ट्राफिक सचेतनासम्बन्धी अभियानलाई पनि निरन्तरता दिँदै आइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको अगुवाइमा बुधबार साँझ वीरगञ्जको घण्टाघरचोकमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सवारीचालकलाई लक्षित गरेर एकघण्टे प्रशिक्षण गरिएको हो ।  प्रमुख लोकराज भट्टले ट्राफिक नियम पालना गर्न सवारीचालक तथा यात्रुलाई अनुरोध गरेका छन् । “सवारी दुर्घटनाका कारणले धेरैले ज्यान गुमाइरहेका छन्,” उनले भने, “ट्राफिक नियम पालना गर्दा ठूला खालका दुर्घटनाबाट पनि जोगिन सकिन्छ । त्यसैले दुर्घटनाबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका उपाय पालना गर्न हाम्रो आग्रह छ ।”

समृद्धि नेपाल फाउन्डेसनका अध्यक्ष सुरज सर्राफले पनि वीरगञ्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।  कार्यक्रम संयोजक दिलीपराज कार्कीले रोगले भन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक नियमको पालना गर्नुपर्ने बताए ।