अमेरिकी उच्च अधिकारीहरूको भेटवार्ता प्रस्ताव लत्याउँदै चीन
परम्परालाई भत्काउन खोज्दा स्थिती थप आक्रामक !

काठमाडौँ: पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध चिसिएको छ । सम्बन्ध सुधारका संकेतहरू देखिएका छैनन् । ह्वाइट हाउसमा राष्ट्रपति परिवर्तन हुँदा पनि एसियाली शक्तिसँगको सम्बन्ध उस्तै छ ।
यद्यपि अमेरिकाबाट चीनसँग उपल्लो तहमा कुराकानी गर्ने प्रयास भइरहेको तर चीनले वास्ता नगरिरहेको बताइएको छ । यो दाबी, बेलायती अखबार फाइनान्सियल टाइम्सको हो । हालै अमेरिकी उपविदेश मन्त्री वेन्डी सेरमनले चिनियाँ समकक्षीसँग कुराकानी गर्न चाहेको तर चीनले नमानेको टाइम्सले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा दाबी गरेको छ ।
गत मार्चमा अलास्कामा अमेरिका र चीनबीच औपचारिक वार्ता भएको थियो । जहाँ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेन र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिब्युरो सदस्य याङ जिएचीले आ-आफ्ना टोलीको प्रतिनिधित्व गरेका थिए । त्यस छलफलपछि अमेरिका र चिनियाँ उच्च अधिकारीबीच कुराकानी भएको छैन । त्यसकारण सेरमन र चिनियाँ समकक्षी ले युचेङबीचको भेट ‘अलस्का टक’ पछिकै उपल्लो तहको छलफल हुने थियो ।
तर चिनियाँ सरकारले सेरमनलाई युचेङसँग नभई साई फेङसँग भेट्न भनेको टाइम्सको दाबी छ । फेङ चिनियाँ विदेश मन्त्रालयमा पाँचौ वरियताका कर्मचारी हुन् । जो चिनियाँ विदेश मन्त्रालयमा अमेरिका डेस्क सम्हाल्छन् । उता, अमेरिकी विदेश मन्त्रालयले सेरमनको चीन भ्रमणबारेमा केही खुलाएको छैन । तर टाइम्सका अनुसार उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण सकेर चीन जाने योजना बनाएकी थिइन् ।
चीनले अमेरिकी अधिकारीहरूको भेट प्रस्तावलाई नकारेको यो पहिलो\पटक होइन । केही महिनाअघि अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले चिनियाँ जेनरल सु झिलियाङसँग भेट्न खोज्दा पनि चिनियाँ सरकारले अनुमति दिएको थिएन । झिलियाङ चिनियाँ सेन्य नेतृत्वमा राष्ट्रपति सि चिनफिङपछिका सबैभन्दा उपल्लो अधिकारी हुन् । बरु चीनले अमेरिकी रक्षा मन्त्रीलाई आफ्ना रक्षा मन्त्रीसँग भेट गर्न प्रस्ताव राखेको थियो । चीनमा समग्र सैन्य फौजको कमाण्ड गर्ने ‘सेन्ट्रल मिलिटरी कमिसन’को वरियतामा झिलियाङ रक्षा मन्त्री भन्दा माथि हुन्छन् ।
चीनको पछिल्लो क्रियाकलापलाई जर्जटाउन विश्वविद्यालयका चीन विज्ञ इभान मेडैरोसले चिनियाँ सरकारको ‘खेल’को संज्ञा दिएका छन् । ‘चीनले खतरनाक खेल खेलिरहेको छ । यसले दुई मुलुकबीचको दूरी बढाउँछ । सँगसँगै तनाव पनि बढ्नेछ । विगतमा सधैँ एकै वरियतामा रहेका अमेरिकी र चिनियाँ अधिकारीबीच भेटवार्ता हुँदै आएको छ । अहिले आएर त्यस्तो परम्परालाई चीनले भत्काउन खोज्दा स्थिति थप आक्रामक बन्छ,’ मेडैरोसले भनेका छन् ।
उसो त चीनले अमेरिकी उपविदेश मन्त्री सेरमनले उसको विदेश मन्त्री वाङ यीसँग ‘भिडियो कल’ गर्नसक्ने बताएको थियो । तर चिनियाँ सहर तियानजिन नै पुगेपछि सेरमनले ‘भिडियो कल’ मार्फत ‘इन्गेज्ड’ हुनुभन्दा प्रत्यक्ष भेटवार्ता नै गर्न चाहेको बताइएको छ ।
गत महिना ह्वाइट हाउसका उच्च अधिकारी कुर्ट क्याम्पबेलले चिनियाँ ‘रवैया’ प्रति दिगदारी व्यक्त थिए । उनले आफूहरूले चिनियाँ राष्ट्रपति चिनफिङसँग नजिक रहेका चिनियाँ अधिकारीहरुसँग भेट गर्न चाहेको तर उताबाट त्यस्तो प्रस्तावलाई इन्कार गरिने भन्दै रोष प्रकट गरेका थिए । ‘चिनियाँ विदेश मन्त्री र रक्षा मन्त्री चिनफिङसँग नजिक छैनन् । उनीहरूको पहुँच चिनफिङसम्म छैन । यस्तोमा हामी चिनफिङका निकटवर्तीहरूसँग छलफल गर्न चाहन्छौ । तर हाम्रो प्रस्तावलाई इन्कार गरिन्छ,’ क्याम्पबेलले भनेका थिए ।
हुन त अमेरिकी र चीनबीचको ‘अलास्का टक’को अन्त्य सुखद रहन सकेको थिएन । दुई दिने छलफलको अन्तिम दिन चिनियाँ टाेली नेता जिएचीले आफूहरूले ‘फलाे अप’ छलफल गर्न चाहेको बताए । तर जवाफमा अमेरिकी विदेश मन्त्री ब्लिनकेनले धन्यवाद मात्रै भने । त्यसपछि जिएची प्रष्ट हुन चाहे र सोधे, ‘यसको मतलब तपाईहरु चीन आउने हो?’ ब्लिनकेनले जवाफमा भने, ‘धन्यवादको मतलब धन्यवाद नै हो,’
बिल्नकेनको सन्देश थियो, अमेरिका चीनसँग उपल्लो स्तरमा थप कुराकानी गर्न तयार छैन । हो, यहीबाट चीन चिढियो । ‘सायद चिनियाँहरू अमेरिकालाई सजायँ दिन चाहन्छन् । वा जो बाइडन प्रशासनको परीक्षा लिइरहेका छन् । हुनसक्छ, केही समयपछि चीन आफैँले उच्चस्तरको वार्ताको प्रस्ताव राख्नेछ,’ जर्मन मार्सल फन्डमा रही चीनलाई नियालिरहेका बोनी ग्लासर भन्छन् । उता अमेरिकी थिंक ट्याङक ब्रुकिंग्सका रायन हस पछिल्लो घटनाक्रममलाई सामान्य मान्छन् ।
यद्यपि अमेरिकाले चीनसँग भेटवार्ता र आवश्यक छलफल गर्न प्रयास गरिरहने अनुमान गर्छन, त्यहाँका उच्च अधिकारीहरू । ‘हामी प्रत्येक भ्रमणको उदेश्य होस् भन्ने चाहन्छौ । र, यस्तो भ्रमण तय हुने बित्तिकै हामी घोषणा गछौँ,’ नाम नबताउने शर्तमा अमेरिकी विदेश मन्त्रालयका एक उच्च अधिकारीले टाइम्सँगको कुराकानीमा भनेका छन् । उनले दुई मुलुकका उच्च अधिकारीहरु सम्भावित भ्रमणका विषयमा छलफलमा रहेको पनि बताए ।
अमेरिकाले सेरमनको सम्भावित चीन भ्रमणलाई भविष्यमा हुने विदेश मन्त्री स्तरिय भ्रमणको तयारीका रुपमा हेरेको थियो । ब्लिनकेनको बेइजिङ भ्रमणले आउँदो अक्टोबरमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच औपचारिक भेटवार्ता गर्न वातावरण मिलाउन सक्थ्यो । इटालीमा हुने जी-२० सम्मेलनमा दुवै मुलुकका राष्ट्रध्यक्ष सहभागी हुँदैछन् । फाइनान्सियल टाइम्सको सहयोगमा

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया