बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारणहरू सास्ती भोग्न बाध्य भएका छन् ।

उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा  सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा फेरी सञ्चालन गरिएपनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।  

अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द भएको छ । जसका कारण झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर षडानन्द नगरपालिका–४ स्थित सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन भट्टराईले बताए ।

सो क्षेत्रबाट चूनाव जितेर पटक पटक राजनीतिक दलका नेता सत्तामा पुगेपनि सतिघाटमा पक्की पुल निर्माणमा चासो नदेखाउदा आफुहरु समस्यामा परेको उनले बताए । 

फेरी बन्द हुँदा सवारी साधनहरु नदीको किनारमा नै रोकिने गरेको छ । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन नसकेको भोजपुरबासी कल्पना बस्नेतले बताउनुभयो । उहाले पुल नहुदा बोकेर सामान ओसार पसार गर्नुपर्दा महङ्गी बढेको र भनेको समयमा पनि पुग्न नसकिएको गुनासो गरे।

अरुण नदीमा पुल नहुँदा सामानओसारका लागि भरियाको भर पर्नुपरेको छ । भरियाले प्रतिकिलो डेड रुपैयाका दरले भारी बोक्दै आएका छन् । फेरीले केहि समय नदी तर्ने समस्या समाधान गरेपनि स्थायी समस्याको समाधान लागि पक्की पुल बन्नुपर्ने स्थानीयहरुको माग छ । स्थानीय सरकारले पक्की पुल निर्माणको लागि पहल गरेपनि बन्न भने नसकेको जनाएको छ ।