बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी उपत्यकामा गएको पहिरोका बारेमा सरकार बेखबर भएको टिप्पणी गर्दै सो पहिरोबाट विस्थापित भएका नागरिकको यथाशीघ्र सुरक्षित स्थानमा पुनःस्थापना गर्न माग गर्नुभएको छ ।

बैठकको विशेष समयमा उहाँले पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउन र सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा हिमपहिरोले सिङ्गो बस्ती जोखिममा छ, १८ परिवार घर छाडेर पालमुनि बसेका छन्, सरकार अहिलेसम्म पुगेको छैन । सरकारको उपस्थिति र राहत प्राप्त गर्नलाई काठमाडौँमै बाढीपहिरो आउनुपर्ने हो ?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद चन्दले विपद् व्यवस्थापनको कार्यक्रम, पूर्वतयारी तथा बजेटलगायत बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले समयमै विपद् पूर्वतयारीमा ध्यान दिन सुझाव दिनुभयो ।

सांसद भगवती न्यौपानेले यही जेठ पहिलो साता राजधानीमा आयोजित सगरमाथा संवादबाट नेपालले अन्तरराष्ट्रियस्तरमा आफ्नो छवि उँचो बनाएको जनाउँदै आगामी दिनमा पनि यसखालका संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद पूजा चौधरीले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन उचित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हुलाकी राजमार्गमा अलपत्र परेको पुलको निर्माण र बाढी पहिरोले क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण गर्न सुझाव दिनुभयो ।

सांसद गङ्गाकुमारी बेल्वासेले राष्ट्रिय अर्थतन्त्रको सबलीकरणका लागि कृषि र पर्यटना उच्च प्राथमिकता दिन आग्रह गर्दै गाँजा खेतीलाई प्रवर्द्धन गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य, शिक्षालगायत मौलिक हकको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।