मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

भूमिसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु वर्तमानको आवश्यकताः सांसद गैरे

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमिसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभामा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले विधेयकले नागरिकको भूमिसम्बन्धी हकलाई सुनिश्चित गर्ने बताए । उनले राज्यका नीतिअन्तर्गत संविधानमा गरिएको व्यवस्थाअनुरुप चल्न खोज्दै गर्दा हिजो राजाको हुकुमबाट व्यक्तिगत रुपले जग्गा बाँड्ने तरिकामा अभ्यस्त भएका र त्यसको प्रवृत्तिका रुपमा अझैपनि स्वरहरु सुनिनु नौलो कुरा नभएको टिप्पणी गरे । जनताको समस्या समाधान गर्न खोज्दा कार्यकर्तालाई बाँडेको प्रवृत्ति देखिनु दुःख विषय भएको उनको भनाई थियो । 

उनले भने, ‘विधेयक अघि बढाएकोप्रति सरकारलाई धन्यवाद भन्न चाहन्छु । नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकसम्बन्धी व्यवस्था । संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्तहरुमार्फत गरिएको प्रवन्ध । राज्यका नीतिहरुअन्तर्गत संविधानमा गरिएको व्यवस्था । यसको माध्यमबाट नागरिकहरुको भूमिसम्बन्धी हकलाई सुनिश्चित गर्ने । नेपाल सीमाभित्र रहेको जमीनको सुरक्षा, भोगचलन र त्यसको माध्यमबाट मुलुकको समृद्धिका लागि योगदान पुराउने कुराका लागि भूमिसम्बन्धी समस्यालाई समाधान गर्नु र थप व्यवस्थित गर्नु आजको आवश्यकता हो । त्यो पूरा गर्न यो विधेयकले महत्वपूर्ण योगदान पु¥याउने छ । यद्यपी यो व्यवस्थाअनुसार चल्न खोज्दै गर्दा हिजो राजाको हुकुमबाट व्यक्तिगत रुपले जग्गा बाड्ने हिजोको तरिकामा अभ्यस्त भएका र त्यसैको प्रवृत्तिका रुपमा आएका आजका स्वरहरु आज सुन्छौं । आज कानुनवमोजिम व्यवस्थित गर्न खोजेको विषय पनि कार्यकर्तालाई बाँडेको देख्छन् । जनताको समस्या समाधान गर्न खोज्दा कार्यकर्तालाई बाँडेको देख्ने प्रवृत्ति यो दुखद् विषय हो । यसबाट नेपाली समाजलाई यस्तो प्रवृत्तिबाट मुक्त गर्नु जरुरी छ ।’

उनले वर्तमानमा देखिएका चुनौति र समस्याको समाधान गर्दै नेपाली समाजलाई यस्तो प्रवृत्तिबाट मुक्त गर्नु आजको आवश्यकता भएको बताए ।