मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

काठमाडौँ - सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि (आइटी)क्षेत्र विकासका लागि महत्त्वपूर्ण भएकाले यसमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१/२०८२ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस विषयमा अर्थ मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिए ।  

प्रगति समीक्षापछि मन्त्री गुरुङले भने,“आइटी क्षेत्र विकासका लागि महत्त्वपूर्ण हुँदा हुँदै पर्याप्त बजेट छैन । यसमा अर्थ मन्त्रालयले सहजीकरण गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । बजेटबिना डिजिटल फेमवर्कको परिकल्पना पूरा गर्न सम्भव हुँदैन । यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने आवश्यकता छ ।”

विगतमा जस्तै पुँजीगत खर्चमा मन्त्रालयसमेत पछि परेको स्वीकार गर्दै उनले यसले कर्मचारीको कार्यक्षमतामा सुधार गर्नुपर्ने र मन्त्रालयबीच सहकार्य विकास गर्नुपर्ने देखिएको बताए । निर्देशनात्मक सुझावसहित उनले भने,“पुँजीगत खर्च नबढ्नुका विविध कारण मध्ये एउटा कर्मचारीको कार्यशैली हो भने अर्को सम्बद्ध मन्त्रालयबीच समन्वय र संयोजनको भूमिका प्रभावकारी नदेखिनु हो ।”

मन्त्री गुरुङले तोकिएका ‘माइलस्टोन’ पूरा गर्न र असार मसान्तसम्म मन्त्रालयअन्तर्गतका सबै निकायलाई पुँजीगत खर्च बढाउने गरी कार्यसम्पादन गर्न आग्रह गरे ।