शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै : अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्व हुँदै युरोपसम्मको यात्रा

काठमाडौँ- नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो चलचित्रले रिलिजको पहिलो सातामै नेपालमै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै पहिलो ‘हिट’ चलचित्र बन्न सफल भएको छ ।

अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ । न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिङ्टन, ओहायोदेखि फ्लोरिडा सम्मका विभिन्न सहरहरूमा नेपाली दर्शकहरू आफ्नो नजिकको सिनेमा हलमै यो चलचित्र हेर्न पाएका छन् । अमेरिका भरिका नेपाली समुदायमा चलचित्रप्रतिको उत्साह देखिँदै गएको छ, जुन टिकटका अग्रिम बुकिङ र हलहरूको भरिभराउ अवस्थाबाट स्पष्ट हुन्छ ।

त्यस्तै, अस्ट्रेलियामा पनि चलचित्रले रिलिज भएको पहिलो दिनदेखि नै हाउसफुल शोहरू दिइरहेको छ । सिड्नी, मेलबर्न, ब्रिसबेन लगायत सहरहरूमा नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको वितरकहरूले जनाएका छन् ।

क्षेत्रगत रूपमा अमेरिकामा पूर्वोत्तर क्षेत्रका म्यासाचुसेट्स, न्यु ह्याम्पशायर, कनेटीकट र न्युयोर्कमा  मीड-अटलान्टिक क्षेत्रमा पेनसिल्भेनिया, मेरिल्यान्ड, भर्जिनिया, वासिङ्टन र डि.सी.मा मिडवेस्ट क्षेत्रमा ओहायो, इलिनोइस, आइओवा, विस्कन्सिन, मिसौरी, नर्थ डकोटा र केन्टकीमा साउथईस्ट क्षेत्रका जर्जिया, फ्लोरिडा र टेनेसीमा साउथ सेन्ट्रल क्षेत्रको टेक्ससमा माउन्टेन वेस्ट क्षेत्रको कोलोराडोमा पश्चिमी तटमा वासिङ्टन र क्यालिफोर्नियामा 'ऊनको स्वीटर' रिलिज भइरहेको छ ।

यस्तै, जापानका प्रमुख सहरहरू जस्तै योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरितामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ । नेपाली समुदाय रहेको अधिकांश जापानी सहरमा चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

त्यस्तै, दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्म सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता सहरहरूमा शोहरू तय गरिएका छन् । कोरियामा रहेको नेपाली विद्यार्थी र कामदार समुदायबाट उत्साहजनक साथ मिलिरहेको छ ।

युरोपका डेनमार्क, पोर्चुगल, बेल्जियम, साइप्रस, माल्टा जस्ता देशहरूमा पनि मे १८ देखि चलचित्रको प्रदर्शन तय भइसकेको छ । यसबाहेक क्यानडामा पनि चलचित्रको शोहरू सुरु हुने तयारी भइरहेको छ । मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, ओमन लगायतमा पनि 'ऊनको स्वीटर' सफलताका साथ प्रदर्शन भइरहेको छ भने हङकङ, सिङ्गापुर र युनाइटेड किङडममा पनि प्रदर्शनको तयारी छ ।

‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । जीवन्त संवाद, यथार्थपरक प्रस्तुति र नवीन चौहानको सुन्दर निर्देशनले चलचित्रलाई सबै वर्गका दर्शकले रुचाएका छन् ।

चलचित्रका गीतहरू पनि उत्तिकै लोकप्रिय छन् । ‘चाइनेजो जिन्दगानीमा’ गीत युट्युब र टिकटकमा सनसनी मच्चाइरहेको छ भने ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ गीतहरू करोडौँ दर्शक/श्रोताले हेरेर मन पराइसकेका छन् । चलचित्रको ट्रेलर युट्युबमा ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

चलचित्रले दोस्रो हप्तामा पनि करिब २ सय शोमा प्रदर्शन जारी राखेको छ । दर्शकको चासो अझै घटेको छैन । शुक्रवारदेखि चलचित्रको देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण सुरु गरिएको छ । शुक्रवार दिउसो दमौली र साँझ पोखराका दर्शकसँग साक्षात्कार सुरु भएको यो भ्रमण चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । प्रचार टोलीमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस र गायक सुजन चापागाईँ सहभागी छन् ।