शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

यस्तो छ राष्ट्र बैंकले बताएको अर्थतन्त्रको परिदृश्य

काठमाडौँ : चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मा आइपुग्दा अर्थतन्त्रमा तात्कालीक रूपमा कुनै ठूलो संकट छैन । कोभिड–१९ शुरु भएदेखि नै मुलुकभित्र उत्पादन, रोजगारी र माग (उपभोग)को अवस्था खस्केको थियो । तर रेमिट्यान्स आप्रवाह राम्रो भएकाले बाह्य क्षेत्र स्थायित्व सशक्त थियो । आयात घटेकाले शोधनान्तर स्थिति मजबुत थियो, चालु खाता घाटाले पनि खासै कसेको थिएन । विदेशी मुद्राको सञ्चितिले रेकर्ड कायम गर्दै थियो । 

यस हिसाबले हाम्रो अर्थतन्त्र दुई वर्षयताकै कमजोर मोडमा आएको छ र आगामी दिन सहज हुने संकेत देखिदैंन । २२ महिना पछि शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा छ । आर्थिक वर्ष २०७६–७७ देखि शोधनान्तर लगातार बचतमा थियो । 

शोधनान्तर देशबाट बाहिरिने र देशमा भित्रने रकमको अन्तर हो । आयातमा वृद्धिका अतिरिक्त विदेशी सहायता परिचालन तथा प्रत्यक्ष वैदेशिक लगानीमा कमीका कारण शोधनान्तर ऋणात्मक स्थितिमा पुगेको हो । अझै यसै आर्थिक वर्षमा यथार्थ समयमा कति रकम बाहिरियो र कति भित्रियो भनेर हेर्ने हो भने चालु खाता घाटालाई हेर्नुपर्छ । चालु खाता घाटा भने २ खर्ब ९३ अर्ब ९७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको जेठमा चालु खाता घाटा ६२ अर्ब ५९ करोड रुपैयाँले घाटामा थियो । 

चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने प्रबल सूचक मानिन्छ । यसको अर्थ साउनदेखि जेठसम्म नेपालमा भित्रिएको भन्दा बाहिरिएको रकम झण्डै २ खर्ब ९४ अर्ब रुपैयाँले बढेको छ । 

चालु खाता, पुँजी खाता र वित्तीय खाताले भने समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ । 

विदेशी मुद्रा सञ्चितिमा पनि गत वर्षको असारभन्दा घटेको छ । यद्यपि ११ महिना वस्तुको आयात धान्न पुग्छ । अहिले हाम्रो विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर छ ।

मूल्य वृद्धि उकालोतिर

उपभोक्ता मूल्य क्रमशः बढ्दो क्रममा छ । कोभिड–१९ पछि विश्वव्यापी रूपमा नै मूल्य वृद्धि बढीरहेको छ । आयातमा आधारित भएकाले बाह्य मुलुकको मूल्य वृद्धिले पनि हामीलाई असर पार्छ । गएको साउनयता जेठमा मूल्यवृद्धि सबैभन्दा माथि पुगेको छ । वार्षिक औसत हिसाबले तोकिएको सीमाभित्र देखिएपनि जेठ महिनाको मुद्रास्फिति ४.१९ प्रतिशत छ । एकातिर कोभिड–१९ का का कारण रोजगारी र आय आर्जनका अवसर गुमेका छन् भने अर्कोतिर उपभोग्य वस्तुहरू महँगो भएर गएको छ । यसले आम जनतालाई प्रत्यक्ष प्रभावित पार्नेछ । 

जेठमा रेमिट्यान्स सबैभन्दा कम 

चालु आर्थिक वर्षको ११ महिनामा अघिल्लो वर्षको वर्षभरीमा प्राप्त रेमिट्यान्सकै हाराहारीमा रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षमा वर्षभरमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने चालु आवको ११ महिना (साउन–जेठ)मा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमै हेर्ने हो भने पनि १० प्रतिशत रेमिट्यान्स वृद्धि देखिन्छ । तर जेठ महिनाको तथ्यांक अघिल्लो जेठसँग, मासिक औसतसँग र मासिक रूपमा प्राप्त भएको रेमिट्यान्ससँग तुलना गर्ने हो भनेचाहिं अत्याउने तस्वीर देखिन्छ । वैदेशिक रोजगार गन्तव्यमा कुनै ठूलो आघात बिना अचानक ठूलो परिमाणमा रेमिट्यान्स घट्नुले हुण्डी बढेको आशंका गरिएको छ । मासिक रूपमा गत वर्षको जेठ महिनामा रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले घटेको छ । नेपालमा मासिक रेमिट्यान्स आप्रपवाह औसत ७९ अर्ब १७ अर्ब रुपैयाँ रहेकोमा जेठमामा भने मासिक औसत भन्दा निकै कम रेमिट्यान्स भित्रिएको छ । महामारीका कारण श्रम गन्तव्य मुलुकहरूमा लकडाउनले २०७६ को फागुन र चैतमा रेमिट्यान्स घटेपनि त्यसपछि क्रमशः बढीरहेको थियो । 

स्थायित्व/जगविनाको निर्यात व्यापार 

मुलुकको निर्यात पहिलोपटक वार्षिक एक खर्बरुपैयाँ पुगेको छ । यस आर्थिक वर्षमा जेठसम्म सवा खर्ब जतिको निर्यात भएको छ । तर निर्यातको कुनै जग र स्थायित्व छैन । बाह्य मुलुकबाट सोयाबिनको कच्चा तेल ल्याएर प्रशोधन गरी नेपालले साउनदेखि जेठ महिनासम्म ४२ अर्ब ३४ करोड रुपैयाँको निकासी गरिसकेको छ । नेपालको मौलिक उत्पादनमा सबैभन्दा बढी निर्यात भएको वस्तु अलैंची हो । यस आर्थिक वर्षको ११ महिनामा नेपालले ६ अर्ब ६२ करोडको अलैंची निर्यात गरेको छ । आयाततर्फ पेट्रोलियम, सवारी पार्टस्, मिलमेसिनरी र फलाम तथा स्टीलको कच्चा वस्तु बाहेक पाँचौ ठूलो आयातका रूपमा चामल देखिएको छ । ११ महिनामा नेपालले झण्डै ४८ अर्ब रुपैयाँको चामल आयात गरेको छ ।