मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

दिक्तेलमा पुसको दोस्रो सातादेखि रेड पाण्डा महोत्सव हुँदै, सगरमाथा संवादमा रूपाकोट मझुवागढी नगरपालिका सहभागी

खोटाङ - दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले हालै सम्पन्न रेड पाण्डा तथा थार महोत्सव-२०८२ को सफल आयोजनामा साथ, सहयोग गर्ने सबै पक्षप्रति आभार प्रकट गरेका छन्। पत्रकारहरूसँग आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहयोग पुर्‍याउने सबै संस्था, अतिथि तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका हुन्।

वैशाख १ र २ गते हुर्लुङमा सम्पन्न महोत्सवमा करिब ३० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ। महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, अभिनेता तथा रेड पाण्डा दूत दयाहाङ राई, संगीतकार शान्तिराम राई, विभिन्न राजनीतिक दलका नेता, स्थानीय निकाय, वन उपभोक्ता महासंघ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरपालिकाले अब 'बायो-रेथा अन्तर्राष्ट्रिय सम्मेलन–२०२५' आयोजना गर्ने तयारी गरिरहेको छ। जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणका उद्देश्यसहित सम्मेलन आगामी पुस १५, १६ र १७ गते हुने नगर प्रमुख भट्टराईले जानकारी दिए। सम्मेलनको नारालाई “जैविक विविधता: रेडपाण्डा र थार – संरक्षण संवर्द्धन, समृद्धिको आधार” राखिएको छ।

यस्तै, नेपाल सरकारद्वारा सुरु गरिएको सगरमाथा संवाद कार्यक्रममा यस वर्ष प्रदेशस्तरबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका समेत सहभागी हुने भएको छ। देशभरबाट छानिएका ११ स्थानीय तहमध्ये खोटाङको यो नगरपालिका पनि समावेश भएको जानकारी नगर प्रमुखले भट्टराईले जानकारी दिए । सगरमाथा संवादमा भाग लिन नगर प्रमुख भट्टराईलाई नगर कार्यपालिकाले आधिकारिक प्रतिनिधित्वको जिम्मेवारी दिएको छ।

नगरपालिकाले बाँसको प्रवर्द्धन, वातावरणीय संरक्षण तथा जैविक विविधताको संरक्षणमा देखाएको सक्रियताका कारण अन्तर्राष्ट्रिय तहमा पनि पहिचान बनाएको प्रमुख भट्टराईको भनाइ छ। यसअघि नगरपालिकाले पहिलो राष्ट्रिय बाँस सम्मेलन-२०८१र हालैको रेड पाण्डा-थार महोत्सव सफलतापूर्वक सम्पन्न गरेको थियो।

यसैबीच, नगरपालिकाको वडा नं. १४ स्थित बुईपामा यलम्बर पार्क निर्माण सम्पन्न भइसकेको र चाँडै नै यसको उद्घाटन गरिने तयारी गरिएको नगरपालिकाले जनाएको छ। यस्तै, वडा नं. ६ नेर्पामा बाँस कला तथा हस्तकला सम्बन्धी दुई महिने उन्नतस्तरको तालिम पनि संचालनमा रहेको जानकारी दिइएको छ।

कार्यक्रमको अन्त्यमा नगर प्रमुख भट्टराईले, "नगर समृद्धिका लागि दीर्घकालीन योजना र कार्यक्रमहरूमा सबै सरोकारवालाको साथ र समर्थनको अपेक्षा लिएका छौं", भन्दै पत्रकारहरूको उपस्थिति र निरन्तर साथप्रति आभार प्रकट गरेका थिए।