सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

घर भाडामै सक्यो ६० लाख

काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ ।  मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ । 

लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छ भने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो । 

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय  गणेशबहादुर भण्डारीले बताए ।  उनले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताए ।  

गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो ।  

नौ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा–६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर रु एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले  अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । 

बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताए । भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताए । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन ।