शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

चितवन- के तपाईंको घरमा ह्वीलचियर थन्किएर बसेको छ ? यदि छ भने ह्विलचियर किन्न नसकेर समस्यामा रहेकाहरूलाई त्यो ठूलो राहत हुनसक्छ । तपाईंले थन्किएको ह्विलचियर दिएमा कुनै विपन्न अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बन्नसक्छ ।

हाल थन्किएका ह्विलचियर जुटाएर दैनिकी सहज बनाउने उद्देश्यसहित ‘फ्रि ह्विलचियर डोनेट एण्ड रिपियर सोसाइटी नेपाल’ नामक अभियान लागेको छ । अभियानका अवधारणाकर्ता आनन्द राउत घर तथा कार्यालयमा प्रयोगविहीन ह्विलचियर सङ्कलन गरेर आवश्यक पर्दा मर्मतसमेत गरी विपन्नसम्म पुर्‍याउने अभियानमा लागिरहेका छन् ।  

विदेश जाने रकम घटाउन र विपन्नलाई सहयोग गर्ने दुई वटा उद्देश्यका साथ अभियान थालिएको भन्दै उनले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे । “यहाँ विदेशबाट ह्विलचियर आयात गरिन्छ । त्यसका लागि बर्सेनि करोडौँ रकम बाहिरिन्छ । त्यसैले यहाँ बिग्रिएर बसेका, कबाडीका रूपमा रहेका ह्विलचियरलाई आवश्यक मर्मत गरी पुनःप्रयोग गर्ने अभियानमा लागेका छौँ । यसले विदेशिने करोडौँ रुपैयाँ बचत हुनुका साथै विपन्नलाई निकै सहयोग पुग्नसक्छ”, राउतले भने । 

सन् २०२५ को सुरुआतसँगै सुरु भएको अभियानमार्फत हालसम्म छ जनालाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ ।  राउतले पहिलो ह्विलचियर पाउने व्यक्ति र परिवारको अनुहारमा देखिएको खुसीबाट प्राप्त आत्मसन्तुष्टिले अभियानमा लाग्न प्रेरित गरिरहेको बताए ।

उनले भने, “हामीले कतै बिग्रिएर बसेका ह्विलचियरलाई खरिद गरेर वा सहयोगमा लियर आवश्यकताअनुसार मर्मत गरेर वितरण गर्ने गरेका छौँ । मर्मतका लागि नारायणी बहुप्राविधिक शिक्षालयमा रहेको इन्फिनिटी प्रयोगशालासँग समन्वय गरेर काम भइरहेको छ ।”

हाल आर्थिक रूपमा विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर सहयोग गर्ने उद्देश्यले अभियान काम सुरु भए पनि आगामी दिनमा वैशाखी, वाकर र नक्कली खुट्टासमेत वितरण गर्ने योजना रहेको जनाइएको छ । रासस