शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : गभर्नर नियुक्ति चाँडै हुन्छ

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् । 

शुक्रबार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने ब्रिफिङ गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति गभर्नर बन्नुपर्ने बताउनुभएको जानकारी दिए । 

‘राष्ट्र बैंकको विषय यो निकै ढिलो भएको छ भन्ने चासो प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले यो चाँडै टुंगिन्छ, हामीले यो जुन भनेका छौँ । प्रोफेसनल, व्यवसायिक र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यवसायिक व्यक्तित्वको हातमा जानुपर्‍यो जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सकोस् । त्यसको चाँडो निर्णय हुन्छ र एउटा सहमतिबाट निर्णय हुन्छ भन्नेकुरा पनि उहाँले राख्नुभएको छ’ बैठकपछि देउवाको भनाइ उदृत गर्दै देउवाले भने ।

प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरुको सहमतिबाटै गभर्नरको नियुक्ति हुने बताए ।