बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको गन्तव्य प्रचार गर्दैछौंः सिताराम घिमिरे, स्पार्क एड्भेञ्चर

यात्रुहरुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले केही वर्षयता स्पार्क एड्भेञ्चर कार्यक्रम गर्दै आएको छ । आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेका तथा प्रचूर पर्यटकीय सम्भावना भएका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले उक्त कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु सहभागी हुँदैछन् । यसै सन्दर्भमा स्पार्क कारका निर्देशक सिताराम घिमिरेसँग स्पार्क एड्भेञ्चरको सुरुआतदेखि यहाँसम्मको यात्रा र यसको उद्देश्यलगायतका विषयमा केन्द्रित रही गरिएको कुराकानीको सम्पादित अंश ।

स्पार्क कारले अहिले तेस्रो संस्करणको ‘स्पार्क एड्भेञ्चर’ आयोजना गर्दैछ । सुरुमा यो सोच कसरी आयो ?
नेपालको पर्यटन बजार निकै ठूलो छ । सम्भावना भएका कैयौँ क्षेत्रहरु अझै पनि ओझेलमै परेका छन् । हामी सबै नेपालीको सम्बन्ध कुनै न कुनै रुपमा पर्यटनसँग जोडिएको अवस्था छ । तर यति हुँदाहुँदै पनि पर्यटन बजार सीमित भयो भन्ने लाग्छ । केही निश्चित गन्तव्यहरुको मात्रै प्रचारप्रसार भइरहेको देखेपछि ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरुआत भएको हो । अहिले हामी तेस्रो संस्करणमा छौँ । पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा हामीले पनि केही न केही योगदान गर्नुपर्छ भन्ने सोचले सन् २०२२ मा पहिलो पटक यसको सुरुआत गरेका थियौँ ।

 यसबाट स्पार्क कारलाई के फाइदा हुन्छ ?
कुनै ठाउँ विशेषको पर्यटन प्रवर्द्धन हुँदा एउटालाई मात्रै फाइदा पुग्दैन, यसले सबैलाई फाइदा पुग्छ । पर्यटन प्रवर्द्धन हुँदा स्थानीयदेखि केन्द्र सरकारसम्मले लाभ लिन सक्छन् । त्यहाँको आर्थिक गतिविधि बढ्छ भने विभिन्न अवसरका ढोकाहरु पनि खुल्छन् । स्पार्क कारलाई पनि फाइदा हुनसक्छ । भोलिका दिनमा स्पार्क कारबाटै सेवा लिएर मानिसहरु त्यस स्थानमा पुग्न सक्छन् । त्यसैले सबैलाई यो फाइदा छ । त्यसबाहेक हामी गर्ने व्यापार पनि  कहीँ न कहीँ  यसैसँग जोडिएको अवस्था छ । धेरैभन्दा धेरै पर्यटकीय गन्तव्य विकास हुँदै जाँदा यसले स्वतः रुपमा हाम्रो पनि बजारको दायरा बढाउँछ । 

स्पार्क एड्भेञ्चरमा ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन नै किन रोज्नुभयो ?
यो हाम्रो क्रिएटिभ टिमको सोच हो । लामो समयदखि विभिन्न क्षेत्र भ्रमण गर्दै त्यसको अध्ययन गरेर यो निष्कर्ष निकालिएको हो । ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दा धेरैलाई फाइदा हुने रहेछ । यसको अर्थतन्त्रमा पनि सकारात्मक योगदान पुग्ने ठानेर हामीले यसलाई अगाडि बढाउने निर्णय गरेका हौँ । त्यसैमध्येको एउटा ठाउँ गौरी टाप हो भन्ने लाग्छ । 

पहिलो संस्करणमा लमजुङको भुजुङमा भीर मौरी शिकार र दोस्रो संस्करणमा शैलुङ प्रवद्र्धन गर्नुभयो, त्यहाँबाट  कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले विगतमा जुन गन्तव्य प्रवद्र्धन गरेका थियौँ, त्यहाँ अहिले यति धेरै मानिसहरु पुग्नुहुन्छ भन्ने कल्पना पनि गरेका थिएनौँ । अहिले जता पनि जान्छु शैलुङ जानेहरु, त्यसबारे जानकारी लिनेहरुको स्रोत स्पार्क एड्भेञ्चर नै भएको पाएको छु । हामीले कार्यक्रम गरेपछि अहिले ती  क्षेत्रमा पर्यटकको संख्या ह्वात्तै बढेको छ भन्दा फरक पर्दैन । यसले त्यहाँ लगानीहरु बढेको छ, प्याकेजहरु बिक्री भइरहेका छन् र आर्थिक गतिविधि चलायमान बनेको छ । कतिलाई त शैलुङमा गाडी जान्छ भन्ने पनि थाहा रहेनछ । 

यहाँसम्म आइपुग्दा सरकार, स्थानीय, निजी क्षेत्र र सरोकारवाला निकायको सहयोग कस्तो छ ?
हामी आजका दिनसम्म आइपुग्दा सरकार, स्थानीय, निजी क्षेत्र र सरोकारवाला निकायलगायत सबैको सहयोग निकै राम्रो छ । उहाँहरुसँगको सहकार्यकै कारणले आज यो सम्भव भएको हो भन्ने लाग्छ । हाम्रो योजनामा उहाँहरुका साथ र समर्थन नभएको भए यो सम्भव हुने थिएन । स्थानीय सरकार, समुदाय र सरकारी कार्यालय सबैबाट हामीलाई साथ दिइरहनुभएको छ । 

स्पार्क एड्भेञ्चरमा सबै क्षेत्रलाई समेट्नुको कारण के हो ?
हाम्रा लागि पर्यटन सबैभन्दा ठूलो प्रडक्ट हो । मुलुकको विकासका लागि सबभैन्दा उत्तम उपाय भनेकै पर्यटन हो । हामी परिवारसँग बिदा मनाउँदा, रिफ्रेसमेन्टका योजना बनाउँदा यसप्रकारका गन्तव्य नै रोज्छौँ । साथै सबै क्षेत्रको सहभागिता हुँदा ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन प्रभावकारी हुने भएकाले सबै क्षेत्रको साथ र सहयोग खोजेका हौँ ।

तेस्रो संस्करणमा आइसक्दा नयाँ के गर्दै हुनुहुन्छ ? साथै आगामी दिनमा यो कार्यक्रमलाई कुन ढंगले अझ परिस्कृत बनाउने योजना छ ?

आजका दिनसम्म आइपुग्दा हामीले धेरै उपलब्धि प्राप्त गरेका छौँ भने केही सिकाइ पनि भएको छ । तेस्रो संस्करणमा सबै क्षेत्रलाई समेटेका छौँ । विद्युतीय यातायात र पर्यावरणलाई प्राथमिकता राखेका छौँ । साथै कतिपय कामहरु यात्रा अवधिमा पनि गर्ने योजना बनाएका छौँ । जहाँ सहभागीहरुलाई रिफ्रेस बनाउन र नयाँ अनुभव प्रदान गर्नका लागि भरपूर प्रयास गरेका छौँ । उहाँहरु एड्भेञ्चर सकेर आउँदा नयाँ ऊर्जा र उत्साहका साथ फर्कनुहुनेछ भन्नेमा विश्वास छ । आगामी दिनमा यसलाई अझ परिस्कृत बनाउँदै लैजाने र यसमा केही कार्यक्रमहरु पनि गर्ने योजना पनि बनाएका छौँ ।