बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

काठमाडौँ- नेपाल सरकारका नीतिनिर्माणमा संलग्न अधिकारीहरूलाई  लक्षित गरी सञ्चालन गरिएको ८ महिने नेपाल पोलिसी लिडरशिप प्रोग्राम (एनपिएलपी) २०२४   सम्पन्न भएको छ । नेपाल पोलिसी इन्स्टिच्युट एनपीआईको आयोजनामा सञ्चालित उक्त तालिम कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो।

एनपीआई अध्यक्ष डा.खगेन्द्रराज ढकालको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्ले थिए भने विशेष अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल थिए।

अध्यक्ष ढकालले ८ महिनाको कार्यक्रम उपलब्धिमूलक भएको उल्लेख गर्दै कार्यक्रम केसहरूमा आधारित रही एक्सपेरिएन्सियल लर्निङको माध्यमबाट नीतिनिर्माणसँग सम्बन्धित निर्णय प्रक्रियामा आवश्यक हुने विभिन्न फ्रेमवर्क र विश्लेषणका तरिकाहरू सिकाउने उद्देश्यले डिजाइन गरिएको बताए। यसमार्फत सहभागीहरूको क्रिटिकल थिङ्किङ सीपको विकास गरिन खोजिएको स्पष्ट पारे।  

कार्यक्रममा कार्यकारी सदस्य तथा पूर्वसचिव गोपीनाथ मैनालीले काठमाडौँ विश्वविद्यालय र नेपाल सरकारसँगको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै त्रिपक्षीय सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। 

उनका अनुसार एनपिएलपीमा ९ जना प्रशिक्षकहरूले सहजीकरण गरेका थिए, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता थियो। एनपिएलपीका सहजकर्ताहरूको संयोजन डा. गम्भीर भट्टले गरेका थिए भने डा. खगेन्द्र ढकाल, डा. गोपी खनाल, गोपी मैनाली, शारु जोशी, डा. पूर्ण नेपाली, डा. प्रमोद जोशी र सम्झना श्रेष्ठलगायतका नेपाली मूलका विज्ञहरूले विभिन्न मोड्युलहरूको सहजिकरण गरेका थिए। अन्तर्राष्ट्रिय विज्ञ स्याली वाशिंगटनले नीति नेतृत्वको अन्तर्राष्ट्रिय सन्दर्भ तथा आवश्यक सिप र क्षमताबारे विशेष सत्र सञ्चालन गरेकी थिइन्।

एनपिएलपी मोड्युलहरूमध्ये क्रिटिकल थिङ्किङ सम्बन्धी दुई मोड्युलको नेतृत्व एनपीआई अध्यक्ष ढकाल आफैंले गरेका थिए। पोलिटिकल इकोनोमी एनालाइसिस, प्रब्लम ट्री एनालाइसिस, स्वोट स्ट्र्याटेजी डेभलपमेन्ट, र रिस्क एनालाइसिस फ्रेमवर्क्स को नेतृत्व भट्टले गरेका थिए।

भट्टले सार्वजनिक नीतिमा विद्यावारिधि गरेका छन् भने  ढकालको विद्यावारिधि क्रिटिकल थिङ्किङ को मापनमा आधारित छ। भट्टसँग सिङ्गापुरको नेसनल युनिभर्सिटी अन्तर्गत ली कुआन यु स्कूल अफ पब्लिक पोलिसीमा अध्यापन तथा एशियाली विकास बैंकमा लामो कार्यानुभव रहेको छ। ढकाल विगत १५ वर्षदेखि थाइल्यान्डको केएमयूटी विश्वविद्यालयमा प्राध्यापनरत छन्। उनी नेतृत्व, सोच्ने क्षमता, र सञ्चारजस्ता ग्लोबल कम्पेटेन्सीज प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय विज्ञको रूपमा अमेरिका, युरोप र एशियामा सक्रिय छन्। सन् २०२३ मा उनले इस्ट–वेस्ट सेन्टर (संयुक्त राज्य अमेरिका)बाट एसिया–प्यासिफिक लिडरशिप फेलोशिप प्राप्त गरेका थिए।

समापन कार्यक्रममा १६ वटा मन्त्रालयको प्रतिनिधित्व गरेका नेपाल सरकारका सहसचिव, उपसचिव र अधिकृतहरू सहित २५ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। समारोहमा प्रमुख अतिथि प्राडा वाग्लेले नीति बनाउने कर्मचारीहरू जानेर पढेर आए पनि नीति कार्यान्वयन गर्ने राजनीतिक नेतृत्वको प्रतिबद्धता अभावका कारण कार्यान्वयन पक्षमा समस्या देखिने गरेको धारणा राखे। उनले एनपिएलपीजस्ता कार्यक्रम व्यवहारिक र सृजनात्मक अभ्यास भएको उल्लेख गर्दै, काठमाडौँ विश्वविद्यालय र एनपीआईबीच भविष्यमा पनि नीति अनुसन्धान तथा तालिममा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा विभिन्न मन्त्रालयबाट आएका सहसचिव, उपसचिव र अधिकृतहरूलाई काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्ले, विशेष अतिथि सचिव चुडामणि पौडेल, एनपीआई अध्यक्ष  ढकाल तथा काठमाडौँ विश्वविद्यालयका डिन प्राडा विजय केसीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरेका थिए । 

एनपिएलपी ग्राजुएसन कार्यक्रममा नागरिक समाज, थिङ्क ट्याङ्क, शैक्षिक क्षेत्र, सञ्चारमाध्यम तथा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसमा राष्ट्रिय योजना आयोगका सदस्य–सचिव सुमनराज अर्याल पनि सहभागी थिए ।