मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताए । उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भएपनि काठमाडौं बाहिर भने जनशक्तिको पूर्ण रुपमा अभाव रहेको बताए ।

उनले संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको बताए । उनले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौं बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताए । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताए । 

‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिति छैन । तर टिक्ने कुरा असाध्यै मुस्किल छ । टिकाउने कुरा असाध्यै गाह्रो पनि रहेको छ । काठमाडौंभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति छ । तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिति छ । संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै हुनुहुन्छ । बाँकी यतै काठमाडौंतिरै भएको स्थिति छ' मन्त्री पौडेलले भने 'जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौं बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति हामीले बनाउन सक्नुपर्छ । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ । जनशक्ति उत्पादन कम खर्चिलो नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिति हामीले बनाउन जरुरी छ । त्यो जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ति प्रोत्साहित गर्न जरुरी छ ।’

मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गरेको उल्लेख गरे । उनले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा बिस्तार गरिरहेको बताए । उनले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए ४ प्रतिशत लगानीले नपुग्ने उल्लेख गरे ।