सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

काठमाडौँ- विद्यालय शिक्षा विधेयकका माग सम्बोधनका लागि गठित संसदीय उपसमितिको म्याद १० दिन थपिएको छ ।

सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको म्याद १० दिन थप गरेको हो । उपसमितिलाई यसअघि ३५ दिनको समय दिइएको थियो ।

३५ दिनमा सहमति जुट्न नसकेपछि थप १० दिन उपसमितिको समय थपिएको हो । समितिको बैठकमा उपसमितिका संयोजक छविलाल विश्वकर्माले १० दिनको समय माग गरेका थिए । जसलाई समितिले स्वीकृत गरेको हो ।

यसबारेमा जानकारी गराउँदै समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिलाई १० दिनको म्याद थप सम्बन्धी प्रश्तावलाई समितिले स्वीकृति गरेको बताए  । उनले यसअघि ३५ दिनको समयमा उपसमितिले रातदिन काम गरेको र गम्भीरतापूर्वक छलफल गरेको बताए । उनले धेरै बुँदाहरु समितिका लागि शिर्ष तहमा जानुपर्ने अनुमान गरेपनि उपसमितिबाटै टुंगिँदा खुशी लागेको बताए । 

सभापति थापाले भने ‘विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिलाई १० दिनको म्याद थप सम्बन्धी प्रश्तावलाई समितिले स्वीकृति गरेको जानकारी गराउँछु । हामीले ३५ दिनको समय दिएर उपसमितिले रातदिन खटेर काम गरेको छ । उपसमितिले एकदम गम्भीरतापूर्वक छलफल गरेको छ । धेरै बुँदाहरु सहमतिका लागि बाहिर जानुपर्छ होला भन्ने लागिरहेको थियो, अरुको सहमति खोज्नुपर्छ होला भन्ने लागेको थियो, यहीँबाटै यो प्रश्तावलाई हामी अघि बढाइरहेका छौँ । एकदम सहज तरिकाले कुनै विवाद रहित तरिकाले अघि बढ्यौँ ।’

सभापति थापाले विद्यालय शिक्षा विधेयकलाई अझ समृद्ध बनाउने गरी अघि बढ्न जरुरी रहेको बताए ।