आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल

फाइल तस्बिर

जकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको वर्तमान सङ्घीय लोकतान्त्रिक व्यवस्थामा वशंवादको कुनै स्थान नरहेको बताएका छन् । 

एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले राजालाई स्थान चाहिन्छ भने सर्वसाधारण नागरिक भएर जनतासमक्ष आउनुपर्ने र निर्वाचनमा भाग लिनुपर्ने विचार व्यक्त गरे । 

राजावादीका नाममा देशमा अशान्ति फैलाउन नहुने भन्दै त्यस्ता गतिविधि गर्नेलाई लोकतान्त्रिक शक्तिले सफल हुन नदिने वरिष्ठ उपाध्यक्ष पोखरेलले दाबी गरे । “देशमा लोकतन्त्र आएपछि समृद्धि तथा विकासले गति लिएको छ”, उनले भने ।

जनताको सङ्घर्ष, त्याग, तपस्या तथा आन्दोलनबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै पोखरेलले आमनागरिक राजतन्त्रको पक्षमा नरहने बताए । देशमा अर्थतन्त्र सङ्कटमा परेको अवस्थामा समस्या समाधान गर्दै अर्थतन्त्र सुधार गर्न, मुलुकको समग्र विकास गर्न दुई ठूला दल कांग्रेस र एमालेबीच समन्वय भई वर्तमान सरकार गठन भएको उनले जानकारी दिए ।

विगतमा पनि राणाशासन, पञ्चायती शासनविरुद्ध तथा लोकतन्त्र स्थापनका लागि नेपाली कांग्रेस र एमालेले संयुक्त रूपमा आन्दोलन गरेर सफल भएको स्मरण गर्दै उनले अहिले पनि नेपालमा आर्थिक समृद्धि र विकासका लागि दुवै पार्टी हातोमालो गरेर अगाडि बढिरहेका उल्लेख गरे । 

एमालेको जिल्ला अधिवेशबाट नेतृत्व चयन गर्दा क्षमतावान् र पार्र्टी तथा जनताका लागि काम गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्नेमा पोखरेलले जोड दिए । उनले कांग्रेससँग एकातिर प्रतिस्पर्धा छभने एकातिर देश चलाउने जिम्मेवारी रहकाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए ।

एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी रहेको भन्दै राजतन्त्र, शोषक र जनताको हितविपरीत कार्य गर्ने विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । “हामी विकास र समृद्धिका पक्षमा लागेको छौँ । मुलुकभित्र शान्ति कायम गर्न सबै सतर्क र सचेत हुनु जरुरी छ”, उनले भने । 

एमालेका धनुषा इन्चार्ज एवं पोलिटब्यूरो सदस्य जुली महतोले वर्तमान सरकार मुलुकको विकासमा केन्द्रित रहेकाले सबैले सहयोग गर्नुपर्ने आग्रह गरे । एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा आज कार्यक्रम भएको थियो । 

धनुषामा पार्टीका १४ हजार १३३ क्रियाशील कार्यकर्ता रहेका छन् ।  आजदेखि तीन दिन सञ्चालन हुने अधिवेशनले धनुषाको नयाँ नेतृत्व चयन गर्नेछ ।