अमेरिकी प्रतिबन्धले हाम्रो नीतिमा परिवर्तन हुँदैन् : इरान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी तेल कारोबार गर्ने देश वा व्यक्तिलाई दण्डित गर्ने धम्की दिएपछि आफ्ना व्यापारिक साझेदारमाथि अमेरिकाले लगाएको प्रतिबन्धले आफ्नो नीतिमा कुनै परिवर्तन नगर्ने इरानले शुक्रबार जनाएको छ ।
“यी गैरकानुनी व्यवहारको निरन्तरताले इरानको तार्किक, वैध र अन्तर्राष्ट्रिय कानूनमा आधारित अडानमा परिवर्तन ल्याउने छैन,” इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा इरानको ‘व्यापार र आर्थिक साझेदारहरूमाथि दबाब’ को निन्दा गरिएको छ।
यस्ता प्रतिबन्धले कूटनीतिको मार्गमा अमेरिकाको गम्भीरताप्रति गहिरो शङ्का र अविश्वास पैदा गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार ट्रम्पले इरानी तेल वा पेट्रोकेमिकल्सको ‘कुनै पनि मात्रा’ को विश्वव्यापी बहिष्कार गर्न आह्वान गरेका थिए ।
“इरानी तेल वा पेट्रोकेमिकल उत्पादनको सबै खरिद अब बन्द हुनुपर्छ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।
“कुनै पनि देश वा व्यक्तिले इरानबाट कुनै पनि परिमाणको तेल वा पेट्रोकेमिकल्स खरिद गर्दछ भने इरान तुरुन्तै कडा प्रतिबन्धहरूको अधीनमा रहनेछ,” उनले भने ।
मध्यस्थ ओमानले ‘व्यवस्थापकीय कारण’ देखाउँदै अमेरिकासँगको इरानको अर्को चरणको आणविक वार्ता स्थगित भएको पुष्टि गरेपछि यो प्रतिक्रिया आएको हो ।
ओमानले नयाँ चरणको वार्ताको मिति ‘आपसी सहमतिमा घोषणा गरिने’ बताएको छ ।
हालसम्म भएका तीन चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका विदेशमन्त्री अब्बास अराघचीले इरान ‘न्यायोचित र सन्तुलित सम्झौता’का लागि तयार रहेको बताएका छन् ।
अराघचीले एक्समा भनेका छन्, “वार्ताद्वारा समाधान सुनिश्चित गर्ने हाम्रो सङ्कल्पमा कुनै परिवर्तन भएको छैन। कुनै पनि सम्झौताले ‘प्रतिबन्धहरूको अन्त्य’ को ग्यारेन्टी गर्नुपर्छ ।”
ट्रम्पले सन् २०१८ मा तेहरान र प्रमुख शक्तिराष्ट्रहरूबीच भएको ऐतिहासिक सम्झौता त्यागेपछि इरानको आणविक कार्यक्रमबारे यो उच्चस्तरीय सम्पर्क हो । (एएफपी)

टेक्सासमा बाढी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, उद्धार कार्य जारी

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

प्रतिक्रिया