शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

सिरहा- सिरहाको लहान नगरपालिका–१७ हरिपुर एकरतियामा स्थानीयवासीको पहलमा रामजानकी मन्दिर निर्माणको काम सुरू गरिएको छ ।

बिहीबार मन्दिरको शिलान्याश गर्दै लहान नगरप्रमुख महेशप्रसाद चौधरीले सामाजिक एकता र समाजमा शान्तित्वको भावना बचाइ राख्न स्थानीयले गरेको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरेको बताए ।

“स्थानीयको मागअनुसार मन्दिर निर्माणको काम सुरू गरिएको छ”, नगरप्रमुख चौधरीले भने “भौतिक र आध्यात्मिक विकाससँगै सामाजिक जागरणका लागि सबै समुदायले आपसी एकता कायम राख्न यो मन्दिर निर्माण गर्न लागेका छौँ । यस वडामा लहान नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी सडक निर्माण कार्यलाई गति दिएको छ ।” कूल नौ लाखको लागतमा मन्दिर निर्माणको काम सुरु गरिएको उनले जानकारी दिए । 

गाउँको विकास, सामाजिक कार्य र आयआर्जनका काम गर्न गाउँलेहरू सदैव एकताबद्ध र सक्रिय हुनेगरेको स्थानीय अगुवा अनिता चौधरीले बताए । मन्दिर निर्माणले यस अभियानलाई अझ बढी टेवा पुग्ने उनले प्रस्ट्याए । मन्दिर साझा थलो हुनु भएकाले मन्दिर परिसरमा बसेर सामाजिक गतिविधि अगाडि बढाउन मन्दिर निर्माणले सहजता ल्याउने उहाँले विश्वास व्यक्त गरे । 

हरिपुर एकरतियाका महिलालाई आत्मनिर्भर बनाउन अगरबत्ति मैनबत्ती लहठी चुरा र गुन्द्रुक बनाउने सीपका लागि तालिम सञ्चालन गर्ने सोचमा रहेका स्थानीय महिलाहरूले नगर प्रमुख महेशप्रसाद चौधरीको ध्यानाकर्षण गराउँदै आवश्यक तालिम र बीउ पुँजीको लागि लहान नगरपालिकाले सहयोग गर्नुपर्ने माग गरे । 

राम मन्दिर निर्माणलगतै स्थानीय महिलाले सामाजिक स्वच्छता कार्यक्रमअन्तर्गत सडक सरसफाइ, सामुदायिक विद्यालयको सुधार र सामुदायिक वनको संरक्षण लगायको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस