आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

‘नाकाबन्दी’का कारण गाजामा सहायता कार्य धराशायी हुने अवस्थामाः संयुक्त राष्ट्रसंघ

जेनेभा- इजरायलले गाजामा मानावीय सहायतामा पूर्ण नाकाबन्दी लगाएको दुई महिना पुगेको छ । मानवीय सहायताकर्मीहरूले शुक्रबार गाजाको भोकमरी, द्वन्द्वबाट प्रभावित बालबालिका र पानीका लागि मानिसहरूले सङ्घर्ष गर्नुपरेको भयावह दृश्यको वर्णन गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ र रेडक्रसले युद्धग्रस्त प्यालेिस्टनी क्षेत्रको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय कारबाहीको माग गरेका छन् ।
 
“गाजामा मानवीय प्रतिक्रिया पूर्ण रूपमा प्रभावित भएको छ,“ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले एक विज्ञप्तिमार्फत् चेतावनी दिएको छ।

“तत्काल कदम नचालेमा गाजा थप अराजकतामा फस्नेछ र त्यसपछिका मानवीय प्रयासले त्यसलाई सम्बोधन गर्न निकै कठिन हुनेछ ।

इजरायलले गाजा पट्टीमा रहेका २४ लाख प्यालेस्टिनीहरूका लागि आवश्यक अन्तर्राष्ट्रिय सहायताको सबै प्रवाहलाई कडाईका साथ नियन्त्रण गर्दछ।

१५ महिनाको युद्धपछि भएको युद्धविरामका कारण शत्रुतामा उल्लेखनीय कमी आएको भएपनि युद्धविराम रहेकै समय अर्थात् मार्च २ देखि गाजामा सहायता वितरणमा इजरायली अवरोधका कारण अवरोध आएको थियो । 

नाकाबन्दी सुरु भएदेखि नै संयुक्त राष्ट्रसङ्घले बारम्बार जमिनमा मानवीय विपत्तिको चेतावनी दिँदै आएको छ र फेरि भोकमरीको सङ्घारमा पुगेको छ । 

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले एक साताअघि आफ्नो ‘अन्तिम बाँकी रहेको खाद्यान्न’ गाजावासीका लागि वितरण गरेको बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसीएचएकी प्रवक्ता ओल्गा चेरेभकोले शुक्रबार जेनेभामा गाजा शहरबाट भिडियो लिंकमार्फत पत्रकारहरूसँग भने, “अहिले मुख्यतया खाद्यान्नको मौज्दात समाप्त भएको छ।”
 
“सामुदायिक भान्सा घरहरू बन्द हुन थालेका छन् र धेरै मानिसहरू भाकभोकै बसिरहेका छन्,” उनले भोजनको कमीका कारण कुपोषणबाट मृत्यु भएका बालबालिका र अन्य अति जोखिममा रहेका व्यक्तिहरूको रिपोर्टलाई सङ्केत गर्दै भने । 

उनले भने, “खाद्यान्नलगायतका सामानमाथिको प्रतिबन्ध निकै घातक देखिएको छ ।”

पानीको पहुँचमा पनि ‘अभाव हुँदै गएको’ उनले चेतावनी दिए ।  

उनले भने, “गाजा भग्नावशेषले भरिएको छ । सडकहरू भग्नावशेषले पुरिएका छन् ।” (एएफपी)