शुक्रबार १९ बैशाख, २०८२
Friday, May 02, 2025

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अनुपस्थिति: जापानको कान्साई एक्स्पोमा पविलियन निर्माण रोकिएपछि आलोचना

काठमाडौँ- जापानको ओसाकामा विश्व प्रदर्शनका लागि नेपाल पाभिलियन समयमा निर्माण सम्पन्न नगरेकोमा सरकारको आलोचना भएको छ । ओसाकाको कान्साईमा अप्रिल १३ देखि वर्ल्ड एक्सपोमा नेपालको सहभागिता रहने गरी व्यापार तथा निकासी प्रवर्द्धन गर्न श्री विध म्यानेजमेन्ट र ललित मन्डप आर्ट एण्ड आर्किटेक्टसँग सम्झौता गरेको तर समयमा निर्माण नभएपछि चौतर्फी आलोचना भएको हो ।

सम्झौता गरेको कम्पनीले समयमा निर्माण नगर्दा नेपालले सहभागी जनाउन नसकेको प्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ । यद्यपी वर्ल्ड एक्स्पोको भने उद्घाटन भइसकेको छ ।

सरकारले विज्ञप्ति जारी गरी सम्झौता गर्ने निर्माण गर्ने दुवै कम्पनीलाई नेपाल प्याभिलियन निर्माणमा ढिलाइ गर्नुको कारण तथा आगामी कार्ययोजनाको विवरण माग गरेको छ । विश्व प्रदर्शनीमा नेपालको सहभागीता जानाउने सुनिश्चतता गर्न र सम्झौता अनुसार चाँडो काम सम्पन्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा बताइएको छ,’ सम्झौता अनुसार कार्य सम्पादन नगरे कानुन बमोजिम कारबाही हुनेछ । नेपाल सरकार यस्तो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा नेपालको गरिमामय उपस्थितिको सुनिश्चितता मार्फत नेपालको अन्तर्राष्ट्रिय व्यापार तथा बजार पहुँच बिस्तारको लागि प्रतिबद्ध रहेको व्यहोरा समेत सम्बन्धित सबैको लागि जानकारीको लागि अनुरोध छ ।

सरकारको ढिलासुस्तीप्रति टोक्योस्थित नेपाली दूतावास केही दिनअघिसम्म मौन थियो । पछिल्लो समय जनदबाबपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रेस विज्ञप्ति सार्वजनिक गर्यो।

अहिले नेपालको अन्तर्राष्ट्रिय छवि, जापानस्थित नेपालीहरूको आत्मसम्मान, र विदेशस्थित कूटनीतिक संयन्त्रहरूको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ । पाविलियन निर्माण ठप्प, त्यसका कारण र रकम नतिरेको जापानका मुख्य समाचारमाध्यमहरूले स्पष्ट रूपमा लेखेका छन् । नेपाली पक्षले जापानी निर्माण कम्पनीलाई रकम नतिरेको कारणले गर्दा पाविलियन निर्माण कार्य रोकिएको हो।

जापानजस्तो व्यवस्थित देशमा यस्तो अनियमितता हुनु नेपालप्रति विश्वासको संकट उत्पन्न गराउने विषय हो। आयोजना कम्पनीले सम्भवत: निर्माण अनुभव नपाएका, तर पहुँच भएका कम्पनीहरूमार्फत राष्ट्रको नाममा अन्तर्राष्ट्रिय स्तरको आयोजना हात पारेको आशंका समेत उठेको छ।

जापानमा लामो समयदेखि बसोबास गरिरहेका सरकारी तथा कूटनीतिक मामिलामा अनुभव राख्‍ने जिज्ञान कुमार थापाले फेसबुकमा लेखेका छन् यो कुरा धेरैलाई थाहा नभएको अवस्थामा, यस विज्ञप्तिले सत्य तथ्य बुझ्न सजिलो बनाएको छ। नेपाल सरकारले नेपाल प्याभिलियन निर्माण तथा सञ्चालनको लागि आधिकारिक आयोजक संस्था निजी क्षेत्रलाई तोकेको रहेछ। जापानवासी नेपालीहरुले यस विषयमा धेरै चासो र चिन्ता देखाउनु भएको छ । उनले आ-आफ्नो स्थानबाट जे गर्न सकिन्छ, त्यो गर्न प्रयास गर्न आग्रह गरेका छन् । मुख्य जिम्मेवारी पाएको आधिकारिक आयोजक बीध म्यानेजमेन्ट तथा ललित मन्डफ आर्ट एण्ड आर्किटेक्टले यथासक्य चाँडो रकम भुक्तानी गरेर काम अगाडि बढाउनु आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

जापानमा नेपालको प्रतिष्ठा जोगाउन स्वयं जिम्मेवारी बोकेको तहबाट आएको गम्भीर चेतावनीका रूपमा लिनुपर्छ। तर कूटनीतिक र गरिमामय छवि भएका व्यक्तिहरूले सार्वजनिक रूपमा यस्तो गुनासो गर्नुपर्ने स्थिति आएको पनि राष्ट्रप्रति गम्भीर संकेत हो।