शिक्षक महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा के-के छ ?

काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षक महासंघबीको आज दिउँसो २ बजे वार्ता हुँदैछ । गएरातिको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २:०० बजेबाट पुनः वार्ता हुन लागेको हो ।
शिक्षक महासंघले क्याबिनेटबाट पास गर्नुपर्ने भन्दै ९ बुँदे प्रस्ताव अघि सारेको छ ।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगेपछि पहिलो चरणमा मन्त्रिपरिषद्बाट निर्णय गराउने योजना रहेको छ ।
दोस्रो चरणमा भने संसद्बाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।
यद्धपी वार्ता जारी रहे पनि काठमाडौँ केन्द्रित आन्दोलन भने बिहान ११:०० बजेदेखि नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
यी हुन् शिक्षक महासंघले अघि सारेको ९ बुँदे प्रस्ताव
- सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने ।
- राहत, अस्थायी/करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्तालगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने ।
- प्रारम्भिक बाल विकास सहजकर्ता (बाल विकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने, सो पदबमोजिम (प्रति महिना ३२,९० २) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम २६,०८२ रुपैयाँ उपलब्ध गराउने । सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने ।
- आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय तहका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्ने ।
- स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै ४५ दिने बिदामा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने ।
- संस्थागत विद्यालयका शिक्षक/कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने ।
- नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने ।
- निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने ।
- नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक/शिक्षक कर्मचारीमाथि स्थानीय तहले जथाभाबी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने ।

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

प्रतिक्रिया