‘मौलिक संस्कृति मासेर बहुराष्ट्रिय कम्पनी फस्टाउँदैन’

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले नेपालको मौलिक संस्कृति मासेर बहुराष्ट्रिय कम्पनी फस्टाउन थालिएको बताउनुभएको छ । धर्म, संस्कृति अध्ययन सङ्घ, नेपालले आज यहाँ आयोजना गरेको दुई दिने सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विवाह भोजमा मोही पिउने संस्कृतिको अन्त्य गर्दै ह्विस्की, बियर, कोक पिउने संस्कृतिका माध्यमबाट नेपालका मौलिक संस्कृतिमाथि आक्रमण भइरहेको बताउनुभयो ।
विवाहमा दाइजो दिने शास्त्रीय विधि र हाम्रो संस्कृतिमा नभए पनि बहुराष्ट्रिय कम्पनीको व्यापार प्रवर्द्धनकै कारण यस्ता विकृति भित्रिएको उहाँको भनाइ छ । आवास संस्कृतिको मौलिकता पनि गुम्दै जान थालेको उल्लेख गर्दै उहाँले न्यूयोर्क, लण्डन र काठमाडौँमा बन्ने घरको स्वरुपमा अब भिन्नता देख्न छाडिएकाले मौलिकता हराउन थालेको बताउनुभयो ।
केही दशकअघिसम्म नेपालमा चिया संस्कृति नभए पनि त्यसले अहिले घरघरमा स्वरुप ग्रहण गरेको उपकुलपति वाग्लेले बताउनुभयो । आयुर्वेद, योग, ध्यान र मन्त्रोच्चारणमा पनि मौलिक संस्कृति हराउन थालेकाले यस्ता सम्मेलनले त्यसको पुनस्र्थापनामा सहयोग पुग्ने उहाँको धारणा छ । काठमाडौँ विश्वविद्यालय योगको प्राज्ञिक अध्यापन सुरु गराए पनि शुल्क तिरेर पढ्ने मानिस नआएपछि निःशुल्क पढाइरहेको जानकारी वाग्लेले दिनुभयो ।
शुल्क तिरेर चिकित्सक, इञ्जिनियर, पाइलट बन्ने कोर्ष मात्र पढाउने अभिभावकको मनोविज्ञानले मौलिक संस्कृतिको संरक्षण हुन नसक्ने उहाँले बताउनुभयो । प्रा डा प्रेमकुमार खत्रीले नेपाली संस्कृतिको संरक्षणमा संस्थाले राम्रो सुरुवात गरेको उल्लेख गर्दै संस्कृति संरक्षणमा अभिलेखीकरणको काम बाँकी रहेको बताउनुभयो । सुरेल, वनकरियाजस्ता जातिका भाषा नै लोप हुन लागेकाले यसको संरक्षण हुनुपर्नेमा उहाँको जोड थियो ।
विवाहअघि मेहन्दी लगाउने चलन नेपाली संस्कृति नभई विकृतिका रुपमा आएकाले यस्ता विषयलाई निरुत्साहित गरिनुपर्ने भनाई खत्रीको थियो । सङ्घका अध्यक्ष प्रा डा सोमप्रसाद खतिवडाले दुई वर्षअघि त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागले आयोजना गरेको अन्तरराष्ट्रिय सेमिनारका क्रममा धर्म, संस्कृतिको संरक्षण एवं अध्ययन, अनुसन्धानका लागि यो संस्था स्थापना गर्ने योजना अघि बढेको जानकारी गराउनुभयो ।
प्रा डा पेशलकुमार दाहालले सबै विद्यालय र कलेजमा अनिवार्य रुपमा संस्कृति विषयको पठनपाठन हुनुपर्ने बताउनुभयो । नेशनल कलेजका क्याम्पस प्रमुख माधवप्रसाद न्यौपानेले कलेजमा नेपालको समाज, संस्कृतिका बारेमा पढाइ हुने गरेको बताउनुभयो । -रासस

लुइँटेल नेतृत्वमा स्कल नेपालको नयाँ कार्यसमिति चयन

काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

बच्चा कोरल्दै आगन्तुक चरा

वरिष्ठ साहित्यकार गणेश रसिकको निधन

निजी सवारी साधनलाई यात्रु बोक्ने अनुमति दिएको भन्दै यातायात व्यवसायीको विरोध

सिथि नखः पर्व मनाउनँदै भक्तपुरमा नेवार समुदाय

प्रतिक्रिया