वडा सदस्य मीनबहादुर महतोको तीन बिघामा लोभलाग्दो मेवाखेती

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय उहाँले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन् ।
तीन बिघामा मेवाखेती गर्नुभएका महतोले अहिले ६० टन मेवा बिक्री गरिसकेका छन् । मेवा बिक्रीबाट करिब रु १८ लाख आम्दानी गरेको उनले बताए । मेवाको बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ । उत्पादन भएको मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ । वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो माग गरेअनुसार पठाउँदै आएको उनको भनाइ छ । केही मेवा काठमाडौं पनि बिक्री गरेको महतोले बताए ।
गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरेका हुन् । असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन् । “मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ वीरगन्जमै खपत भएको छ”, उनले भने ।
मेवा प्रतिकेजी रु ३० देखि ४० सम्ममा बिक्री हुने गरेको किसान महतोले बताए । मेवाखेतीमा करिब रु १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब रु पाँच लाख फाइदा लिइसकेको उनले बताए । अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनले बताए । उक्त समयसम्म करिब रु २०–२१ लाखको मेवा बिक्री हुने उनको अनुमान छ । यसले आम्दानी पनि बढाउने उनले बताए ।
मेवाखेतीबाट उनले आम्दानीमात्र लिनुभएको छैन, स्थानीय २२ जनालाई कामका आधारमा ज्याला प्रदान गर्नेगरी रोजगारी दिएका छन् । मेवाको लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब रु ९ लाख ज्यालाबापत बुझेको उनको भनाइ छ । कामदारसहित मुख्यगरी कम्पोस्ट मल र बीउमा खर्च हुने उनको भनाइ छ । सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी दिन थाल्ने हुँदा मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ ।
अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ । हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उहाँनी बताउँछन् । उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन् ।
मेवाखेतीका लागि कावासोती नगरपालिकाले रु तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए। मेवाखेती गर्नुअघि उहाँले उक्त जग्गामा खरबुजाखेती गरेका थिए । खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए । कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहनुभएका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन् । रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेका छन् । “मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो”, उनले भने ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया