समापिका गौतम: ‘खेल’ मार्फत सशक्त उपस्थिति, थिएटरदेखि पर्दासम्मको यात्रामा अभिनयको मोह र मिसन
काठमाडौं - नेपाली सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ आगामी वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित यस चलचित्रमा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ । यही चलचित्रमार्फत अभिनेत्री समापिका गौतमले ठुलो पर्दामा डेब्यू गरिरहेकी छन् ।
थिएटरमा अभिनय गर्दै हुर्किएकी समापिका ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्त्वपूर्ण मोड मान्छिन् । पर्दामा देखिन पाउनु उनको लागि रोमाञ्चक अनुभव मात्र नभई जीवन उपयोगी शिक्षाले भरिएको पल पनि रह्यो । उनी भन्छिन्, "म पर्दामा धेरै चलचित्र कर्मीहरूलाई देख्दै हुर्किएकी हुँ । अब पर्दामा आफूलाई देख्दा जुन अनुभूति भयो, त्यो शब्दमा भन्न गाह्रो छ ।"
थिएटर अभिनयमार्फत कलात्मक आत्मविश्वास बनाएकी समापिकाले आफ्नो अभिनय यात्रालाई सिकाइ र मार्गदर्शनको अवसरका रूपमा हेर्छिन् । थिएटर र चलचित्रबीच केही टेक्निकल भिन्नता भए तापनि, उनले दुवै माध्यमलाई समान रूपमा आत्मसात् गरेकी छन् । "मलाई सिकेको कुरा अभिव्यक्त गर्न पाए आत्मसन्तुष्टि मिल्छ," समापिका भन्छिन् ।
चलचित्रमा उनले ‘ईसा’ नामकी युवतीको भूमिका निर्वाह गरेकी छन्, जो साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हुन् । समापिकाले आफूलाई पनि केही हदसम्म ईसासँग मिल्ने बताउँछिन् । "हाम्रो केही स्वभाव मिल्छन्, तर केही भिन्नता पर्दामा हेर्न पाइन्छ," उनी भन्छिन् ।
सानैमा टेलिभिजन हेरेर कलाकार बन्ने रहर जागेको बताउने समापिकाको अभिनय यात्रा एसएलसीपछि थिएटर प्रवेशसँग सुरु भएको हो । परिवारको साथ र प्रेरणाले उनलाई यो क्षेत्रमा डोर्यायो । उनले स्कुले दिनहरूमा अभिनय गरेर दर्शक हँसाउने, रुवाउने अवसरहरूबाट नै आफूभित्रको कलाकार पहिचान गरेकी थिइन् । समापिकाको अभिनय यात्राको लक्ष्य केवल पर्दामा देखिनु मात्र होइन, नेपाली सिनेमामा कला चेत निर्माण गर्ने योगदान दिनु हो । उनलाई आफूलाई भर्सटाइल कलाकारका रूपमा स्थापित गर्दै फरक-फरक कथाहरूमा काम गर्न मन छ ।
अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो । लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको यो चलचित्रमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको पनि अभिनय रहेको छ ।
--

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

प्रतिक्रिया