देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

चितवन- प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन् ।
भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो । सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिनुभयो । उनले भने, “अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन”, उनले थपे, “म आग्रह गर्न चाहान्छु सबैलाई सधँै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।”
विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गरे । “देशको विकास गर्नैुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ”, उनले भने, “डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु ।” देश विकासका लागि स्थिरता चाहिने भन्दै उनले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताए ।
देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको बताए । उनले भने, “विकासले गति लिएको छैन भन्ने कुरा होइन । विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ ।” भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उनले बनाउने र भत्काउने काम गर्न नहुने बताए ।
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गरे । उनले भने, “राम जन्मेदेखिको लामो इतिहास छ । यो वास्तवमा एउटा सभ्यताको सुरुआत भएको भूभाग हो ।”
नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो । सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ कृष्ण आचार्यले जानकारी दिए ।
छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुँगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिए ।
---

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया