सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

संविधान मिचेर मात्र पुगेन शपथमा पनि रमिता : संविधानविद्

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्न अस्वीकार गर्नु स्वभाविक भएको संविधानविद्हरूले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्रमा संविधानको धारा उल्लेख नगरी शपथ नगर्ने देउवाको अडान जायज भएको बताएका हुन् । 

अदालतले स्पष्ट पारिसकेको  संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्न खोज्‍नु आफूले जे गरे नि हुन्छ भनी जिस्किएको राष्ट्रपति जिस्किएको टिप्पणी संविधानविद् डा. भिर्माजुन आचार्यको छ । 

'राष्ट्रपतिले यस्ता विषयमा आफ्ना विश्वासिला राजनीतिक दलका नेताहरूको कुराभन्दा कानुन र संविधान अध्ययन गरेर नियुक्त गर्नुपर्छ । सर्वोच्चको फैसला के हो र त्यसमा के भनेको छ अध्ययन गर्नुपर्‍यो, त्यो सम्मानित निकायले,' उनले भने, ‘अझै पनि केही बिग्रिएको छैन । राष्ट्रपतिले थप असहजता निम्त्याउनु भन्दा धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्न आवश्यक छ ।’

यस्तो विषयमा जिद्दी गर्नु स्वाभाविक नभएको उनले बताए । उनले भने, ‘यसमा जिद्दी गर्नु स्वभाविक भाव होइन । कही न कही खोट देखिनु हो ।’ 

शपथ ग्रहणस्थलको कार्यकक्षसँगैको कक्षमा राष्ट्रपतिसँग प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले छलफल गर्नुपर्ने स्थिति पैदा हुनु सम्मानित संस्थाको नै बेइज्ज्त हो । 

अर्का वरिष्ठ अधिवक्ता तथा संविधानविद् शम्भु थापाले यस्ता कति विषयमा बोली रहनुपर्ने हो भन्दै भने, ‘अदालतले स्पष्ट पारेको विषयमा पनि पढ्दैनन् भने के भन्‍नु ? यी मानिसहरू आफूलाई के ठान्छन ? कति कराउनु ? किन यस्तो अवस्थामा ल्याएको मलाई त लाज नै लाग्‍न थालिसक्यो ।’

संविधानको धारा मिच्दा मिच्दा यहाँ पनि मिचेका हुन् कि ? भन्‍नेमा उनले भने, ‘स्पष्टै छ नि । नत्र किन यसो गरिरहनु पर्थ्यो ?’