मानव सेवा आश्रमद्वारा एक करोडको अक्षयकोष स्थापना

झापा- सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्नसक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उनको भनाइ छ ।
समाजसेवी नीलकण्ठ तिवारीले अक्षयकोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा रु एक लाख ११ हजार १११ प्रदान गरेर सहयोगको थालनी गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा आश्रम रहेको छ । स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई बिघा पाँच कट्ठा जमिन निःशुल्क प्रदान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिरमा आश्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो । गत साउनदेखि नै आश्रममा अनौपचारिक रूपमा सहयोगापेक्षी सडक आश्रित मानवहरूलाई आश्रय दिइँदै आइएको छ । हाल यहाँ ४३ रहेका छन् । ७६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेर ल्याइएकामा २२ जनालाई उहाँहरूकै परिवारमा पुनर्मिलन गराइएको र पाँच जनाको देहान्त भएको संयोजक विश्वकर्माले जानकारी दिए ।
आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने कोही नभएका, सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानवहरूको उद्धार गरी आश्रय दिँदै आएको छ ।
विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको स्थापना गरिएको थियो । आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने गरी उद्धार तथा आश्रय प्रदान गर्ने देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ ।

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात
मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी

मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

प्रतिक्रिया