पाँच वर्षमा पनि सम्पन्न भएन तीनखुट्टे–देवीटार सडक

धुलिखेल- काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन ।
आठ दशमलव सात किलोमिटर ट्र्याक खोलेर सडक कालोपत्रका लागि विसं २०७७ असोज २० मा शिलान्यास गरिएको थियो । बागमती प्रदेश सरकारको सहयोगमा सडक निर्माण सुरु भएको थियो ।
सडक निर्माणले निरन्तरता नपाउने र काम गरेका मजदुरको ज्यालासमेत भुक्तानी नगरेपछि कामले गति लिनसकेको छैन । स्थानीय लीलाध्वज ग्लानले ठेकेदार नियमित नआउने, कामदारले काम गरेको पैसा नपाएका कारण पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको बताए । पछिल्लो दुई महिनादेखि काम ठप्प रहेको उनले बताए ।
स्थानीय टेकबहादुर घिसिङले सडक पक्की हुने भन्दै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गर्नुभयो । ‘ठेकेदारले सडक छेउ भित्ता खनेर त्यसै छोडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा बाढीले घरबारी बगाउने र कतै पहिरो जान्छ कि भन्ने डरले रातभरि जागै बस्नुपर्ने अवस्था रहेको छ”, उनले भने ।
स्थानीय बासिन्दा कर्णबहादुर थिङले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो धुलोले थप पीडा भएको बताए ।
महाभारत गाउँपालिका—६ का वडाध्यक्ष रमेश लुङ्गेली मगरले पछिल्लो समयमा ट्र्याक खोलेर तारजाली पर्खाल लगाउने काम भए पनि बर्खामा सबै बगाएपछि समस्यामा भएको जानकारी दिनुभयो । काम गर्ने भनेर थुपारेका सामान पनि अलपत्र अवस्थामा रहेका उनले बताए । “ट्र्याक खोलेर त्यसको उचित व्यवस्थापन नगर्दा आवतजावतमा मात्रै नभएर भित्ता भत्किने, बर्खामा हिलो र हिउँदमा धुलो हुने समस्याले सबै हैरान छौँ । पहिरोको जोखिमले छेउछाउका परिवार निकै त्रासमा छन्”, वडाध्इक्ष लुङ्गेली मगरले भने ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिका केन्द्र जोड्ने पहिलो बहुवर्षीय योजनाअन्तर्गत करिब रु ४९ करोड लागतमा कालोपत्रसहितको सो योजना सुरु गरेदेखि पटकपटक म्याद थपिए पनि काम सम्पन्न नभएको बताए ।
सजिलो स्थानतिर करिब डेढ किलोमिटर जति कालोपत्र गरे पनि अप्ठ्यारो भागमा काम हुन नसक्दा थप समस्या भएको उहाँको भनाइ छ । यस विषयलाई लिएर प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्री, अर्थमन्त्री र मन्त्रालयका सचिवलाई स्थलगत निरीक्षण गराएर पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम अगाडि नबढेको अध्यक्ष जिम्बाले गुनासो गरे ।
पछिल्लो पटक थपेको समयसीमा पनि आगामी वैशाखसम्म मात्रै रहे पनि समयमा काम सम्पन्न हुने अवस्था नदेखिएको अध्यक्ष जिम्बाले बताए ।
पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख राजु श्रेष्ठले अब चाँडै काम सुरु हुने बताए । ठेकेदारलाई तोकिएको समयमै काम सक्न निर्देशन दिइएको उनले जानकारी दिए । हालसम्म समग्रमा ६० प्रतिशत र करिब दुई किलोमिटर सडक कालोपत्र भइसकेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीले स्थलगत अनुगमन गरिसकेको र मन्त्रालयमा नै बसेर धेरैपटक उक्त सडकका विषयमा छलफल गरेर ताकेता गरिएको बताए । यतिगर्दा पनि काम नहुनुमा ठेकेदारको चरम लापर्र्बाही रहेको उनको भनाइ छ । बाटो नबन्दा नुन तेलदेखि सबैजसो सामान बनेपाबाट बोकेर लानुपर्ने बाध्यता रहेको भन्दै ढकालले छिटो काम गर्न ठेकेदार र सरोकार भएकाहरूलाई आग्रह गर्नुभयो ।
निर्माण कम्पनी श्रेष्ठ÷साक्ष्मक जेभीसँग विसं २०७७ असार ३० मा रु २५ करोड ८२ लाख दश हजार ३१६ मा ठेक्का सम्झौता भई विसं २०७९ असार ३० गतेभित्रमा सम्मन्न गर्ने समयसीमा तोकिएको थियो । त्यसपछि दुई पटक म्याद थप भइसकेको छ । रासस

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया