सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

नेता ओलीको स्वास्थ्य अवस्था बुझ्‍न अस्पताल पुगे चन्द

काठमाडौँ : नेकपा महासचिव नेत्रविक्रम चन्‍द नेता हेमन्‍तप्रकाश ओलीको स्‍वास्थ्‍य अवस्था बुझ्‍न अस्पताल पुगेका छन् । केन्द्रीय कार्यालयकाअनुसार गम्भीर बिरामी भएर शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत नेता ओलीलाई भेट्न चन्‍द मंगलबार बिहान अस्पताल पुगेका हुन् । अस्‍पताल पुगेर चन्दले नेता ओलीको स्वास्थ्य लाभको कामना गरको कार्यालयले जनाएको छ ।

जेल जीवन विताइरहेका नेता ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो । केही दिनअघि नेता ओलीलाई प्रवक्‍ता खड्गबहादुर विश्‍वकर्माले पनि भेटेका थिए । 

सरकारसँग तीन बुँदे समझदारीपछि चन्द नेकपामाथि लगाइएको प्रतिबन्ध सरकारले हटाए पनि हिरासतमा रहेका नेता कार्यकर्ता भने छुटेका छैनन् । केही दिनअघि मात्रै प्रवक्ता विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि १० दिने अल्‍टिमेटम दिएका थिए ।