मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

भेपसहित समातिएको कन्टेनरमा भाटभटेनीको सामान भएको पुष्टि, सामान लिन दिए निवेदन

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा विद्युतिय चुरोट (भेप)सहित समातिएको कन्टेनर भाटभटेनी सुपरमार्केटको रहेको पुष्टि भएको छ । 

शुक्रबार भाटभटेनी सुपरमार्केटका कर्मचारीले पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा पुगेर सामान लिनका लागि निवेदन दिएका छन् ।

कन्टेनरको सामान भाटभटेनी सुपरमार्केटको रहेकाले सामान लैजानका लागि प्रतिनिधि आएर निवेदन दिएको उच्च स्रोतले  बताएको छ । स्रोतका अनुसार कन्टेनर खुला गर्न केही समय लाग्छ । कन्टेनर खुला गर्नुपर्ने कर्मचारी बाहिर रहेकाले अहिलेसम्म खुलेको छैन । 

'भेप कसको भनेर अहिलेसम्म खुलेको छैन, तर कन्टेनरमा भएको सामान लिन भाटभटेनी सुपरमार्केटले निवेदन दिएको छ' स्रोतले इकागजलाई भन्यो ।

बिहीबार राति ना ६ ख ५४९६ नम्बरको ट्रक र चालक प्रवीण खत्रीलाई अस्थायी प्रहरी चौकी खोर्सानीबारीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त ट्रकलाई प्रहरीले ७४० थान भेपसहित नियन्त्रणमा लिएको थियो ।