एउटा अध्याय पूरा भयो, अब एमाले मिलाउन लाग्छु : माधव नेपाल

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा आफू अब नरहने बताएका छन् । आज साँझ कोटेश्वरमा बसेको गठबन्धनको बैठकमा नेपालले सरकारलाई विश्वासको मत दिने या नदिने टुंगो पनि सिंगो एमालेले गर्ने जानकारी गठबन्धनलाई दिए ।
उनले एउटा सहकार्यका अध्याय पूरा भएको र आगामी दिनमा आफ्नो भूमिका फरक हुने भन्दै गठबन्धनमा नरहने जानकारी दिए । नेपालले देउवालाई सहमतीय सरकार बनाउनसमेत सुझाए ।
उनले आफ्नो बचन पूरा गरेको भन्ने शैलीमा त्यस्तो धारणा व्यक्त गरिरहँदा एमालेमा आइतबार भएको सहमति अनुरुप उनी एमालेभित्रै थप संघर्ष गरेर अघि बढ्न खोजेको देखिन्छ । सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको जानकारी उनले बैठकमा पटक-पटक दोहोर्याएका थिए ।
‘प्रतिनिधि सभा पुनःस्थापना भयो । यसले लोकतन्त्र र नागरिकको मेहनत बचेको छ । त्यसैले यो अध्याय अहिलेलाई सकिएको छ,’ उनलाई उद्धृत बैठकमा सहभागी एक नेताले भने, ‘संविधान, लोकतन्त्र र गणतन्त्रका लागि म गठबन्धनमा आबद्ध भएँ र यहाँसम्म साथ दिए । आवश्यक परे रहन्छु पनि । तर एउटा अध्याय पूरा भएको छ । हाम्रो पार्टीमा देखिएको विवाद पनि मिल्ने दिशामा गएको छ । अब मेरो ध्यान पार्टी मिलाएर लैजाने हुन्छ ।’
एमालेको झलनाथ खनाल र नेपाल समूह तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह सम्मिलित कार्यदलले सकारात्मक काम गरिरहेको जानकारी पनि नेपालले दिएका थिए । अब कार्यदलले गरेको सहमति अनुसार पार्टीलाई मिलाउनतर्फ आफू लाग्ने आफू निकट नेताहरूलाई जानकारी दिइसकेको पनि बैठकमा नै बताएकाे अर्का नेताले जानकारी दिए ।
उनले सरकारमा जाने-नजाने विषय नेपालको निर्णयले मात्र नहुँने बताए । त्यो विषय भनेको एमालेले निर्णय गर्ने उनको भनाइ थियो । त्यसमा स्पष्ट हुन गठबन्धनलाई नेपालले आग्रह नै गरे । पार्टी अध्यक्ष ओली,वरिष्ठ नेता झलनाथ खनाल र आफू (नेपाल) सहितका पार्टीका कमिटीहरूले गरेका निर्णयका आधारमा एमाले अघि बढ्ने उनको भनाइ थियो ।
नेपालले गठबन्धनलाई स्पष्ट रूपमा नै आफ्नो पार्टी एकताबद्ध गर्ने अभियानमा लाग्ने जानकारी दिएका हुन् । गठबन्धनले भने नेपाललाई राष्ट्रपतिमा अघि बढाउने तयारी गरिरहेको छ । वर्तमान राष्ट्रपतिको भूमिकालाई लिएर प्रश्न उठेको र दुई पटकसम्म अदालतले नै उनको ध्येय माथि प्रश्न उठाएर निर्णय उल्टाएको अवस्थामा गठबन्धनले राष्ट्रपति परिवर्तनको कुरा उठाएको हो ।
बैठकमा दाहालले त एमालेलाई नेतृत्व दिन सक्ने व्यक्ति भनेकै नेपाल हो भन्दै आफू इतरकालाई पनि पक्षधर बनाएर अघि बढेकामा आफूहरू खुसी हुने बताए । उनी पक्षधर भनेर चिनिएकाहरू नै स्थायी कमिटि बैठकमा सहभागी भएर अदालतको फैसलाबारे छलफल गरेका थिए । आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्नेमा पनि छलफल भएको थियो । यस्तो छलफल चलिरहँदा नेपाल स्वयं गठबन्धनमा बसेर सरकारमा जाने सम्भावना न्यून नै छ ।
छलफलमा उनले देउवालाई राष्ट्रिय सहमतिका साथ अघि बढ्न सुझाव दिँदै आगामी दिनको शुभकामनासमेत दिएका थिए । उनले देउवालाई पटक-पटक विगत सम्झाउँदै भने, ‘एकलौटी रूपमा अघि बढ्ने प्रयत्न नगर्नु होला । राष्ट्रका समस्या समाधान गर्ने बारेमा एमालेसँग समेत सहमति गरेर अघि बढ्नुहोला।’
बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्ने बताए । 'हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ र्छो । सिंगो एमालेलाई एकतावद्ध बनाउने हाम्रो प्रयास हो,' बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया