शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

नेपाललाई जापानले ४० करोड ७० लाख अनुदान दिने

काठमाडौँ : जापान सरकारले मानव स्रोत तथा संशाधन विकास छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाललाई ४० करोड ७० लाख रुपैयाँ (३६ करोड ५० लाख जापानी येन) अनुदान दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा उक्त कार्यक्रम लागू हुनेगरी नेपालका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र जापानका तर्फबाट काठमाडौँस्थित जापानी राजदूत साइगो मासामिचिले बुधबार हस्ताक्षर गरेका छन् ।

त्यस्तै जापान सरकारले २२ नेपाली सरकारी कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । सरकारी कर्मचारीलाई २ वर्षे स्नातकोत्तर तथा ३ वर्षे पिएचडी कोर्षका लागि विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न लाग्ने शैक्षिक शुल्क, आवास शुल्कलगायत शीर्षकमा छात्रवृत्ति दिइनेछ। काठमाडौँस्थित जापानी राजदूत युताका किकुता र अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गानाबीच  छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको छ ।

उक्त छात्रवृत्ति पाउने नेपालका २२ सरकारी कर्मचारीले जापानका विश्वविद्यालयमा अध्ययन गर्नेछन् । सन् २०१६ देखि २०१९ सम्म पहिलो फेजका रुपमा संचालन भएको यो कार्यक्रमअन्तर्गत हालसम्ममा ८० जना सरकारी कर्मचारीले छात्रवृत्ति पाइसकेका छन्।