सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

राष्ट्रपतिमाथि महाअभियोग लगाउन विवेकशील साझा पार्टीको माग

काठमाडौँ : विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै  महाअभियोग लगाउनु पर्ने बताएका हुन् । 

'पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी साथ दिँदै आएकी छिन्, त्यसलाई मध्यनजर गर्दा पुन स्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्छ भन्ने विवेकशील साझा पार्टीको ठहर छ,' प्रवक्ता पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधान प्रतिकुल भएको भन्दै बदर गरिदिएको फैसलाको पार्टीले स्वागत गरेको छ ।  

विज्ञप्तिमा सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको उल्लेख गरिदिएको छ।