प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

काठमाडौं - रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा ३० दिने युद्धविरामको अमेरिकी प्रस्तावको विवरणहरूबारे छलफल गर्न अमेरिकी दूत स्टिभ विटकफसँग भेट गरेको २४ घण्टाभन्दा कम समयमा यो आक्रमण भएको हो ।
बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने तर यसमा सहमत हुनुअघि स्पष्ट पारिनु पर्ने धेरै विवरणहरू प्रस्तुत गरे ।
किएभले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ । यद्यपि युक्रेनी अधिकारीहरूले मस्कोले त्यस्तो सम्झौतामा प्रतिबद्ध हुनेछ कि छैन भन्ने बारेमा सार्वजनिक रूपमा आशङ्का व्यक्त गरेका छन् ।
शनिबार एक वक्तव्यमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई सीमा नजिक सेना जम्मा गरेको आरोप लगाए । “रुसी सेनाको निर्माणले मस्कोले कूटनीतिलाई बेवास्ता गर्न चाहन्छ भन्ने सङ्केत गर्दछ । यो स्पष्ट छ कि रुसले युद्धलाई लम्बाइरहेको छ”, उनले भने ।
युक्रेनी नेताले अमेरिकी भनाइपछि रूसको कुस्र्क क्षेत्रमा किएभको सेनाले आफ्नो उपस्थिति कायम राखेको कुरामा जोड दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘हजारौँ’ युक्रेनी सेना रूसी सेनाले घेरिएको बताएका थिए ।
“कुस्र्क क्षेत्रको तोकिएको क्षेत्रहरूमा हाम्रो सेनाको अभियान जारी छ”, जेलेन्स्कीले भने, “हाम्रा सैनिकहरूले कुस्र्क क्षेत्रमा रुसी र उत्तर कोरियाली समूहहरूलाई रोकिराखेका छन् । हाम्रा सैनिकहरूको कुनै घेराबन्दी छैन ।”
अर्कै ठाउँमा युक्रेनको वायुसेनाले शनिबार रुसले रातभर एक सय ७८ वटा ड्रोन र दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो आक्रमण शाहेद–प्रकारका आक्रमणकारी ड्रोनहरू र हवाई सुरक्षालाई भ्रमित पार्न डिजाइन गरिएका नक्कली ड्रोनहरूको मिश्रण थियो । करिब एक सय ३० वटा ड्रोनलाई गोली हानेर खसालिएको थियो भने थप ३८ वटा आफ्नो लक्ष्यको बाटोमा हराएका थिए ।
रुसले ऊर्जा सुविधाहरूमा आक्रमण गरी ठूलो क्षति पुर्याएको युक्रेनको निजी ऊर्जा कम्पनी डिटिइकेले जनाएको छ ।
रुसले ड्निप्रोपेट्रोभस्क र ओडेसा क्षेत्रमा ऊर्जा पूर्वाधारमा प्रहार गरेको डिटिइकेले शनिबार एक विज्ञप्तिमा जनाएको छ । केही बासिन्दा बिजुलीबिना बस्न बाध्य भएका थिए ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया